कृञ्जला पुलामी
मंगलबार, असार १६, २०७७
841

सिन्धुलीको कमलामाई नगरपालिकाले सलह खरिद गर्ने भएको छ । सलहको प्रकोप न्यूनीकरण तथा निराकरण गर्न नगरपालिकाले सलह जम्मा गरी ल्याउने व्यक्तिलाई प्रतिकिलो ३० रुपैयाँ दिने भएको हो ।
नगरपालिकाको स्थानीय विपद् व्यवस्थापन निर्देशक तथा समन्वय समितिको बैठकले सलह नियन्त्रणका लागि उक्त निर्णय गरेको हो । सहल नगर क्षेत्रमा प्रवेश गरी किसानका बालीनाली क्षति गर्न थालेपछि समितिको आकस्मिक बैठक बसी उक्त निर्णय गरिएको कमलामाई नगरपालिकाका अधिकृत सागरकुमार ढकालले बताए ।

उनका अनुसार सलह खरिदको जिम्मा वडा कार्यालयलाई दिइएको छ । नगरपालिकाका–१४ वटै वडा कार्यालयले जम्मा गरेको सलह खरिद गर्ने जनाइएको छ । नगरपालिकाले स्थानीयहरूलाई नै सहल संकलनका लागि प्रोत्साहन गर्न उक्त निर्णय गरेको ढकालले बताए । साथै बैठकले सलह नियन्त्रणका लागि स्थानीय उपायहरू अवलम्बन गर्ने निर्णय गरेको छ ।
बैठकमा सलहको संक्रमण क्षेत्र र प्रसारको अवस्थाका बारेमा समेत छलफल गरिएको बताइएको छ । सलहले कमलामाई नगरपालिकाको वडा नं. ९, १०, २, ४, ५, ६ मा क्षति गर्न सुरु गरेको छ । यद्यपि सलह सानो झुण्डमा भएकाले धेरै ठूलो नोक्सानी भने नगरिसकेको कमलामाई नगरपालिकाले जनाएको छ ।
यस्तै नगरपालिकाले सलहको संक्रमणलाई रोक्न स्थानीय स्तरमा जनचेतना एंव स्थानीय उपायहरू अवलम्बन गर्न प्रोत्साहन गर्ने निर्णयसमेत गरेको छ ।
भारतको बिहार हुँदै शनिबार नेपाल प्रवेश गरेको सलह सिन्धुलीमा पनि आइपुगेको हो । सहलले जिल्लाको कमलामाई नगरपालिका–२ को चियाबारी, सिमबारी, लामिस्वारा, मुडेखर्क, खुर्सानी डाँडा, खोपीखर्क, कनपा–८ को माइस्थान, करकरे, १० नम्बर वडाको भिमान तथा भडार क्षेत्रमा र मरिण गाउँपालिकाको २ र ४ वडामा पनि फैलिएको जनाइएको छ ।
किसानलाई सलह कीरा चिनाएर किराले पु¥याउनसक्ने क्षति कम गर्न तर्फ गाउँपालिका लागेको अध्यक्ष पानीराज बम्जनले बताए । यो बेलामा किसानलाई बाली संरक्षण गर्न पठाउने र हुल नै बाँधेर आएको खण्डमा नियन्त्रणको लागि विषादी छर्कनेलगायतका योजना गाउँपालिकाले बनाइरहेको उनको भनाइ छ । खेती बढी हुने ठाउँमा सलह जाने भएकाले किसानहरूसँग जानकारी लिइरहेको उनले जानकारी दिए ।