दीपक बोहोरा
बिहिवार, असार ४, २०७७
1046

पाँचथर-फिदिम माविको मैदानमा रंगशाला बन्ने टेन्डर खुलेपछि फिदिम बजारका स्थानीयहरू खुसी छाएको छ । तर, नाइन ए साइटमा खेल्न मिल्ने गरिएको जग्गा मात्र छ । जग्गा थौरै भएपछि खेलप्रेमी र खेलाडीहरू केही निराश पनि छन् । जग्गा किन्नेरै भए पनि पनि ११ साइटको मैदान निर्माण गर्न सरोकारवालाहरूका लागि परेका छन् । तर, यो मैदानमा भएको खर्च हेर्दा धेरै मानिसहरू निराश छन् । फिदिम बजारमा रहेको एक मात्र खेल मैदान फिदिम माविको खेल मैदानमा पछिल्लो ३ वर्षमा १ करोड २० लाख खर्च भएको छ ।
खेल मैदान मर्मतका लागि भनेर विभिन्न निकायबाट पटक–पटक गरी १ करोड २० लाख खर्च भए पनि खेल मैदान भने खेल्न मिल्ने छैन । पछिल्लो ३ वर्षयताको मात्र खर्च हेर्ने हो भने बालुवामा पानी हाले झै देखिएको छ ।

दुई वर्षअघि मात्र कर्माछिरिङ शेर्पा एन्फामा निर्वाचित भएपछि निर्वाचनताका दिएको बचन पूरा गर्ने भन्दै खेल मैदान मर्मतका लागि एन्फाले १० लाख रुपैयाँ पाँचथर फुटबल संघमार्फत काम गर्ने गरी फुटबल संघ पाँचथरलाई बजेट पठाइदियो । पहिलो चरणमा काम गर्न भनेर ७ लाख पठाइदियो सो रकमले खेल मैदानमा घेराबार हाल्नेलगायत काम देखियो पछिल्लो ३ लाख निकाशा गर्ने बेला फुटबल संघ पाँचथरको विवाद बजारसम्म आयो । सो रकमले मैदानमा घेराबारा हाल्नेभन्दा बाहेक केही काम हुन सकेन ।
दसांै फाल्गुनन्द गोल्डकपको उद्घाटनका प्रमुख अथिति प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो मैदानलाई हरियो घाँसवाला बनाउने भनेर बचन दिएपछि एक वर्ष अघि सामाजिक विकास मन्त्रालयमार्फत घाँस रोप्ने र प्यारापिट निर्माण गर्न भनेर ५० लाख बजेट प्राप्त भएको फुटबल संघ पाँचथरका अध्यक्ष सुजन नेम्बाङले बताए । सो रकमले झापाबाट घासको बीउ ल्याएर घाँस रोप्ने र प्यारापिट निर्माण गर्ने कार्य त भयो तर घाँस रोप्दारोप्दै मैदानको तल्लो भाग पहिरोले भत्किएपछि मैदान खेल्न नमिल्ने भयो । हरियो बन्दै गरेको दुबो पनि खेर गयो । सामाजिक विकास मन्त्रालयबाट आएको ५० लाखको घाँस र प्यारापिट पनि खेर गयो । मैदान भत्किएपछि घाँससहितको हरियो मैदानमा एघारांै फाल्गुनन्द गोल्डकप र चौथो पाँचथर गोल्डकप गर्ने सपना पूरा हुन सकेन । मैदान अभावमा यी दुवै गोल्डकपहरू हुन सकेनन् । अहिले मैदान अभावमा खेलाडीहरूले प्रशिक्षणसमेत गर्न सकिरहेका छैनन् ।
यही वर्ष प्रदेश सरकारबाट भत्किएको मैदानको एकपटी वाल निर्माण लगायतको काम गर्ने भनेर ६० लाखकोे निर्माण कार्य अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए । समितिले सो निर्माण कार्य धमाधम गरिरहेको छ । अहिले सो रकमबाट ९० प्रतिशत काम सम्पन्न भइसकेको श्रेष्ठले बताए । ६० लाखबाट वाल निर्माण गर्ने, सानो प्यारापिट निर्माण गर्ने, इँटाको वाल लगाउने, रेलिङ बनाउने लगायत काम रहेको श्रेष्ठले जानकारी दिए । रंगशाला नै निर्माण भए पनि अहिले बन्दै गरेको संरचना जोगाएर काम गर्ने पनि उनले बताए । बिगत ३ वर्षयता मात्र पटक–पटक गरी यही मैदानमा १ करोड २० लाख खर्च भइसकेको छ । फेरि राष्ट्रिय खेलकुद परिषद्बाट रंगशाला नै बनाउने गरी १६ करोडको ठेक्का खुलेको छ । अब रंगशाला बन्ने भएपछि यसभन्दा अघि गरिएका निर्माण गरिएका प्रायः सबै संरचनाहरू काम नलाग्ने भएका छन् । पटक–पटकको बजेट यसै खेर गएपछि स्थानीयहरूले मैदानका लागि खर्च भएको बजेट बालुवामा पानी भने झै भएको बताउन थालेका छन् ।