दिपक बोहरा
बुधवार, जेठ २८, २०७७
931

पाँचथर-एक वडा एक खेलमैदान पाँचथरका ८ वटै स्थानीय तहको प्रत्येक वर्ष हुने नीति तथा कार्यकक्रममा पर्ने कार्यक्रम हो । तर पनि पाँचथरमा ११ जना फुटबल खेल्ने मैदानको अभाव छ । सदरमुकाम फिदिममा रहेको फिदिम उच्च माविको खेलमैदान यस पटक भत्किएपछि जिल्लामा आयोजना हुने नियमित प्रतियोगिता रोकिए ।
दुई वर्ष अगाडि नयाँ सहर आयोजनामार्फत जिल्ला सदरमुकाम फिदिमको बजार क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डको खेलमैदान बनाउन तयारी सुरु भएपछि बजार क्षेत्रमा जग्गा अभाव देखियो । सरोकारवाला जग्ग खोज्ने कार्यमा लागे । निकै समयपछि फिदिम–५ को स्थानीयले निःशुल्क जग्गा उपल्बध गराउँछौं भने पनि जग्गा हेर्ने कार्य पनि भयो । सरोकारवालाले सोही स्थानमा रंगशाला बनाउन नयाँ सहर आयोजनालाई आग्रहसमेत गरे । अहिले नयाँ सहर आयोजनाले समान्य खेलमैदान समेत निर्माण गरिसकेको छ । स्थानीयले फिदिम नगरपालिकाको नाममा ६१ रोपनी जग्गा पास पनि गरिदिए ।

तर अहिले फिदिम उच्च माविको ९ जनामात्र खेल्न मिल्ने मैदानमा रंगशाला नै बनाउन ठेक्का खुलेपछि फिदिम–५ का स्थानीयमा आफूहरूले निःशुल्क दिएको जग्गमा रंगशाला बनाउन नखोजेको आशंका गर्न थालेको बताउँछन् । “रंगशाला बनाउन भनेर यता जग्गा लिइएको छ, स्थानीयले खेतीयोग्य जमिन सरकारलाई दिएका छन् तर फिदिम बजारमा फिदिम माविको नाइन साइटको खेलमैदान बनाउन ठेक्का खुलाइयो । तर हामीलाई वास्ता गरिएन यसले हामीलाई सशंकित बनाएको छ,” जग्गा दाता गगन लावतीले बताए ।
जिल्लाकै सरोकारवाला सबैको रोहवरमा स्थानीयहरू जग्गा उपल्बध गराएको बताउँदै स्थानीयले अहिले सो स्थानमा रंगशाला नभएर डम्पिङ साइट बनाउन खोजिएको समेत गुनासो गरे । स्थानीयहरू जग्गा दिएर प्रतिबद्धता पूरा गरेको तर सरोकारवाला अहिले बजेट पार्नमा भाग्ने गरेको जग्गादाता तथा जग्गा प्राप्ति समितिका अध्यक्ष रामचन्द्र नेपालले बताए ।
फिदिममा ११ साइटको फुटबल खेलाउन खेलमैदान छैन । फिदिम बजारमा भएको फिदिम माविको खेलमैदान सानो छ । यही मैदानमा पूर्वाधार विकास गर्न ठेक्का खुलेको छ । फिदिममा खेल मैदानका लागि पर्याप्त जग्गा नभएपछि जग्गा खोजिएको थियो । स्थानीयबासीले जग्गा उपलब्ध गराएपछि नयाँ सहर आयोजना कार्यालयमार्फत सम्याउने काम भएको थियो । ३१ रोपनी क्षेत्र सम्याउने कामबाहेक बाँकी काम अधुरै छ । प्यारापिटसहित अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने भनिएपछि स्थानीयमा खुसी छाएको थियो । फाल्गुनन्द गोल्डकप, पाँचथर गोल्डकप लगायतका प्रतियोगितासमेत फिदिम उच्च माविको मैदानमा हँुदै आएको थियो ।