दीननाथ बराल
बुधवार, बैशाख १७, २०७७
820

पोखरा-कोरोना भाइरस (कोभिड—१९) का कारण मुलुकमा लकडाउन भए पनि पोखरा रंगशाला निर्माणकार्य भने जारी छ । गत चैत ११ गतेदेखि लकडाउन भए पनि लकडाउनको तेसो दिनदेखि हालसम्म निरन्तर रूपमा विभिन्न निर्माणका योजनाको काम भइरहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेशकुमार गुरुङले बताए ।
पोखरा रंगशालामा हाल फुटबल प्रशिक्षण मैदान निर्माण अन्तिम चरणमा पुगेको राखेप सदस्य गुरुङले बताए । उनले भने, “देशमा हाल लकडाउन भएको छ, यो अवस्थामा पोखरा रंगशालामा धेरै निर्माणका कार्य अलपत्र अवस्थामा रहेकाले केही मजदुरलाई रोजगार दिँदै कामअघि बढाउने उद्देश्यले निर्माणकार्यलाई जारी राखेका हौं ।” आगामी वर्ष पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप फुटबल प्रशिक्षण मैदान, पोखरा फुटबल स्टेडिएम निर्माण, रंगशाला सरसफाइ, रंगशाला सजावटलगायतका योजनाअघि बढाएको राखेप सदस्य गुरुङले जनाए । उनका अनुसार हाल दैनिक जसो फुटबल प्रशिक्षण मैदानमा ६० जना मजदरुहरू काममा आबद्ध छन् ।

१३औं सागमा निर्माणकार्य सुरु भई अलपत्र अवस्थामा रहेको फुटबल मैदान निर्माण गर्न राखेपको अनुमतिमा निर्माणकार्यलाई अघि बढाएको राखेप सदस्य गुरुङले बताए । प्रधानमन्त्री केपी शर्मा ओली, राखेप सदस्य सचिव रमेशकुमार शिलवाल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, पोखरा महानगरका मेयर मानबहादुर जिसीको पे्ररणाले यस योजनालाई देशको विसम परिस्थितिमा पनि अघि बढाएको उनले जनाए । राहत नपाएका सिन्दुली, ओखलढुंगा, गोर्खा, तनहुँलगायतका मजदुरहरूलाई आफूहरूले उनीहरूलाई रेखदेख गर्दै काममा लगाएको राखेप सदस्य गुरुङले जनाए । फुटबल प्रशिक्षण मैदानको फिनिसिङको अन्तिम काम भने बाँकी रहेको उनले बताए ।१ सय ५ मिटर लम्बाइ र ६८ मिटर चौडाइको उक्त फुटबल प्रशिक्षण मैदानमा केही समय पश्चात स्थानीय दुबोसमेत रोप्ने तयारी गरिएको राखेप सदस्य गुरुङको भनाइ छ । रंगशालामा ड्रेन तथा स्लाबको काम तीव्र गतिमा भइरहेको उनले बताए । जिल्ला खेलकुद विकास समिति र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद परिषद्को समन्वयमा निर्माणकार्य सुरु गरिएको रोखप सदस्य गुरुङले बताए ।
उपभोक्ता समितिमार्फत १३औं सागमा पर्खाल लगाउने र केही मैदानको भाग खार्ने काममा ३० लाख खर्च भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका नायव सुब्बा डीबी नेपालीले बताए । उक्त कामको बिल भर्पाइसमेत पेस भई भुक्तानीसमेत भइसकेको छ । तत्कालीन अवस्थामा ९२ लाखको लगत स्टिमेटमा उक्त फुटबल प्रशिक्षण मैदान बनाउने योजनामा आफूहरू रहेको नेपालीले बताए ।
यसैबीच पोखरा फुटबल रंगशालाको निर्माणकार्य ९० प्रतिशत पूरा भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर इन्जिनियर दीपक बरालले बताए ।