कारोबार संवाददाता
बुधवार, चैत्र ५, २०७६
984

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले मंगलबार खेलकुदसँग सम्बन्धित सबै गतिविधिहरु बन्द गर्ने निर्णय गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्पूर्ण खेलकुद गतिविधि स्थगित गरिएको जानकारी दिएको छ।
एन्फाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सम्पूर्ण प्रतियोगिता, एन्फा एकेडेमी तथा सचिवालयसमेत चैत १२ गतेसम्मलाई बन्द रहने जानकारी दिएको छ । एन्फाको निर्णयसँगै बी डिभिजन लिग स्थगित भएको छ भने एन्फा टेक्निकल सेन्टर धरान र बुटवललगायत सातदोबाटो एकेडेमीहरु र एन्फा सचिवालय बन्द हुने भएको छ ।

यसका साथै चैत १६ गते तोकिएको एन्फाको वार्षिक साधारण सभामा फिफा र एएफसीका प्रतिनिधि कोरोना संक्रमणको जोखिमका कारण उपस्थित हुन नसक्ने भएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ ।
मंगलबार परिषद्का सदस्य सचिव सिलवालको अध्यक्षतामा बसेको बैठकले विश्वमा महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण एक साताका लागि खेलकुदसँग सम्वन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत मानवीय भेला हुने सम्पूर्ण गतिविधि बन्द गर्ने निर्णय गरेको थियो ।

 


सातामा धेरै पढिएको