कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ३०, २०७६
597

पोखरा-१८औँ संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । बिहीबार भएको दोस्रो सेमिफाइनलमा मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएपछि दुई क्लबको भेट पक्का भएको हो ।
पोखरा रंगशालामा भएको खेलमा मनाङलाई जित दिलाउन लोरेन्ट, विमल राना र अञ्जन विष्टले एक–एक गोल गरे । आर्मीका भरत खवास र दीपकुमार लामाले एक–एक गोल फर्काए । मनाङले अब उपाधिका लागि पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।

पहिलो सेमिफाइनलमा साबिक विजेता थ्री स्टार क्लबलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधिनजिक पुगिसकेको छ ।
विजेता टोलीले १० लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीले स्कुटर र अन्य विधामा समेत उत्कृष्ट छनौट गरी पुरस्कृत गरिने भएको छ ।

 


सातामा धेरै पढिएको