कारोबार संवाददाता
आइतवार, फाल्गुन २५, २०७६
799

इलाममा सम्पन्न छैटौं माईभ्याली गोल्डकपको उपाधि मछिन्द्र क्लब काठमाडांैले जितेको छ । आयोजक माईभ्याली क्लब इलामलाई १–० गोल अन्तरले हराउँदै मछिन्द्रले उपाधि जितेको हो ।
मछिन्द्रको जितमा विदेशी खेलाडी निया एन्ड्रेसले गोल गरेका हुन् । उपाधिसँगै मछिन्द्रले नगद आठ लाख पुरस्कार जितेको छ । उपविजेता बनेको माईभ्यालीले ५ लाख प्राप्त गरेको छ ।
वर्षाले बिथोलिएको खेलमा खेलको दोस्रो हाफपछिको इन्जुरी समयको सदुपयोग गर्दै मछिन्द्रले उपाधि जितेको हो । हाफपछिको समयमा खेलाडीहरुले भारी वर्षाका बीच खेल खेल्नुपरेको थियो ।
खेलको १२ औं मिनेटमा माईभ्यालीका छिरिङ गुरुङले गोलको राम्रो अवसर गुमाए । २२ औं मिनेटमा मछिन्द्रका रेजिङ सुब्बाको प्रहार अकासियो । ४३ अ‍ैं मिनेटमा मछिन्द्रका बिमलले गोलको अवसर गुमाए ।
प्रतियोगितामा डिफेन्डर माईभ्यालीका छिरिङ गुरुङ उत्कृष्ठ बने । किपर आयोजकका देब लिम्बु, मिडफिल्डर मछिन्द्रका योगेश गुरुङ, उत्कृष्ट फर्वाड मछिन्द्रका निया एन्डेस बने । उत्कृष्ठ सबैले समान २५ हजार प्राप्त गरेका छन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी आयोजक टिमका शरण बस्नेत घोषित भए । उनले नगद १ लाख १५ हजार प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक मछिन्द्रका प्रवेश कटुबाल बने । उनले नगद २५ हजार प्राप्त गरे ।
विजेताहरुलाई संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले पुरस्कार वितरण गरेका थिए ।
मछिन्द्रले हालै काठमाडौंमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगपछि झापामा सताक्षी गोल्डकप पनि जितेको थियो । मछिन्द्रले माईभ्यालीसहित सिजनका तीन उपाधि जितेको छ ।

 

टीका खतिवडा