कारोबार संवाददाता
बिहिवार, फाल्गुन २२, २०७६
445

आहा रारा गोल्डकपको उद्घाटन खेलमा

पोखरा - आहा रारा गोल्डकपको १८ औं संस्करणको विहिबार पोखरामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लव र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । पोखरा रंगशालामा हुने उद्घाटन खेलमा दुबै टिमले जित्ने जिकिर गरेका छन् ।
दुबै टिम पहिलो पटक आमनेसामने हुने भएका हुन् । सहारा क्लवले यसपालीको उपाधि रक्षा गर्ने रणनीतिका साथ उद्घाटन खेलमा ब्रिगेडलाई जित्ने ढंगले आफूहरुको उत्कृष्ट खेल प्रदर्शन गर्ने भएको सहाराका प्रशिक्षक विष्णु गुरुङले बताए । सहारा एकेडेमीका उत्पादन एवं पूर्व राष्ट्रिय खेलाडी मनबहादुर तामाङको कप्तानीमा ९ जना पोखरेली खेलाडीहरु मैदानमा उतार्ने तयारी क्लवले गरेको छ । ए डिभिजनका विभिन्न क्लवका खेलाडीहरु सहित एक विदेशी क्यामरुनका अल्द्रीस राम्दीक सहाराको टिममा सहभागि हुने भएका छन् । ब्रिगेड ब्वाइजका प्रशिक्षक सनोज श्रेष्ठले लिग पश्चात देशका धेरै ठाउँमा भएका फुटवल प्रतियोगितामा सहभागि हुँदै आएकोले आफ्नो टिम तयारी अबस्थामा रहेको बताए । अनिल गुरुङको कप्तानिमा तयारी रहेको टिममा १३ औं सागमा सहभागि खेलाडी राजेश परियार, पूर्व राष्ट्रिय खेलाडी विजय गुरुङ सहित नाइजेरियाका ताजुकीन वुसारी र काजीम वुसारी लगायतका खेलाडीहरु रहेका छन् ।
चैत एक गतेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पूरा भएको सहारा क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । विहिबारको उद्घाटन खेल दिउँसो १ः३० बजे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले गर्ने तयारी गरिएको क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन रुसलान थ्रिस्टार क्लब सहित १० टिमको सहभागिता रहने भएको क्लवले जनाएको छ । प्रतियोगिताका बिजेतालाई १० लाख एक हजार रुपैयाँ साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको अध्यक्ष थापाले बताए । त्यसैगरी उपविजेतालाई ५ लाख १ हजार रुपैयाँ साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ ।