कारोबार संवाददाता
सोमवार, फाल्गुन १९, २०७६
453

पोखरा- गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय स्तरका दुई वटा स्क्वास कोर्ट निर्माण कार्य सुरु भएको छ । चालू आर्थिक वर्ष २०७६-०७७ मा सकिने गरी पोखरा रंगशालाभित्र स्क्वास कोर्ट निर्माण कार्य सुरु भएको कास्की जिल्ला स्क्वास संघका सहसचिव सन्तोष घिमिरेले बताए ।
आगामी वर्ष प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी उक्त कोर्ट निर्माण गर्न लागिएको सहसचिव घिमिरेले बताए । करिब ९० लाखको लागतमा शिवम् कन्स्ट्रक्सनले उक्त कोर्ट निर्माण गर्ने ठेक्का पारी जिम्मा लिएको हो ।

राष्ट्रिय खेलकुद परिषद र नेपाल स्क्वास -याकेट संघको सहयोगमा करिब ४० लाखको लागतमा हालै पोखरा रंगशालाभित्र एउटा अन्तर्राष्ट्रिय स्तरकै स्क्वास कोर्ट निर्माण गरिएको सहसचिव घिमिरेले जनाए ।
उनका अनुसार संघ कास्कीको सक्रियतामा संघमा आवद्ध सदस्यबाट करिब एक करोड ३५ लाखको लागतमा स्क्वास भवन निर्माण गरिएको छ । पोखरा रगंशालाको डेढ रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको उक्त भौतिक संरचना निर्माण भएसँगै पोखरामा अन्तर्राष्ट्रिय स्तरको स्क्वास प्रतियोगिता हुने धेरै सम्भावना रहेको उनले जनाए । उक्त भवनमा हाल ३ वटा कोठा, चेन्जिङ रुम, जिम हल सहित कार्यालय, शौचालय सहितको संरचना रहेको सहसचिव घिमिरेले बताए ।
पोखरा रंगशालाको टेनिस कोर्टको छेउ अर्थात् रंगशालाको पश्चिमपट्टि उक्त कार्यालय भवन सहितको स्क्वास कोर्ट निर्माण भएको हो । पोखरामा अन्तर्राष्ट्रिय स्तरका तीन वटा स्क्वास कोर्टहरु निर्माण भएसँगै पोखरामा कुनै पनि अन्तर्राष्ट्रिय स्तरको स्क्वास प्रतियोगिता आयोजना गर्न सकिने भएको संघ कास्कीका अध्यक्ष पुष्पराज श्रेष्ठले बताए । हालै निर्माण भएको स्क्वास कोर्टमा प्रक्षिण समेत हुन थालेको संघले जनाएको छ । यस अघि पोखराको प्रस्याङमा एक निजी ठाउँमा पोखराका स्वासको खेल गतिविधि हुँदै आएको थियो ।

 


सातामा धेरै पढिएको