कारोबार संवाददाता
आइतवार, फाल्गुन ४, २०७६
405

मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । शनिबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गरेसँगै मछिन्द्र क्लब शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रलाई जित दिलाउन आर्मीले गरेको आत्मघाती गोल नै पर्याप्त बनेको थियो । खेलको ३४ औं मिनेटमा मछिन्द्रले आत्मघाती गोलमा अग्रता बनाएको थियोे । मछिन्द्रका रन्जित धिमालले हानेको फल बलमा आर्मीका विकास तामाङको टाउकोमा लागेर गोलमा परिणत भएको थियो । मछिन्द्रले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको हो ।

प्रधानसेनापति म्याराथन होमलालले जिते

प्रधानसेनापति खुला म्याराथनको पाँचौँ संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन् । नेपाली सेनाले शनिबार आयोजना गरेको सो प्रतियोगितामा उनले ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा २२ मिनेट १७ सेकेण्डमा पूरा गरे ।
होमलालले साविक विजेता सेनाकै जमदार कृष्ण बस्नेतलाई पछि पार्दै रु. एक लाख २५ हजार तथा मोटरसाइकल पुरस्कार प्राप्त गरे । दोस्रो भएका कृष्णले उक्त दूरी दुई घण्टा २३ मिनेट ४९ सेकेण्डमा पूरा गरी रु. ६५ हजार तथा तेस्रो भएका सेनाका प्यूठ नवराज साउदले दुई घण्टा २९ मिनेट ३६ सेकेण्डमा दूरी पूरा गरी रु. ३५ हजार पुरस्कार प्राप्त गरे । यस्तै सेनाका अमल्दार ज्ञानप्रसाद भट्टराई र जमदार वेद सुनवार चौथो तथा पाँचौ हुँदै क्रमशः रु. २५ हजार र रु. १५ हजार प्राप्त गरे ।
महिलातर्फको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी पुष्पा भण्डारीले जितिन् । उनले निर्धारित दूरी एक घण्टा १७ मिनेट आठ सेकेण्डमा पूरा गरिन् । यस्तै नेपाल पुलिसकी राजपुरा पछाईंले उक्त दूरी एक घण्टा १८ मिनेट ३७ सेकेण्ड तथा सेनाकी विश्वरुपा बुढाले एक घण्टा २० मिनेट २२ सेकेण्डमा पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए । हाफ म्याराथनमा पुरुष र महिला दुवैतर्फका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु. ५० हजार, रु. ३५ हजार र रु. २५ हजार पुरस्कार प्राप्त गरे ।