सागर परियार
बुधवार, माघ २९, २०७६
606

 

३ अर्ब बढीको पूर्वाधार निर्माण हुँदै

जुम्लामा निर्माण हुने कर्णालीकै नमुना हाइअल्टिच्युट ट्रेनिङ सेन्टरको डीपप्आर तयार भएको करिब ३ वर्ष बढी भयो । ३२ करोडको खर्चमा डीपीआर तयार हुँदा पनि वर्षौंसम्म बजेट अभावले ट्रेनिङ सेन्टर निर्माणले गति लिन सकेन । विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौरमा बन्ने हाइअल्टिच्युट ट्रेनिङ सेन्टरले खेल क्षेत्रसँगै कर्णालीको पर्यटन प्रवद्र्धनमा टेवा पु-याउने आशा गरिए पनि बजेट अभावले अलपत्र थियो ।
२०७४ पुस ३ गते खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोलीले सम्भाव्यता अध्ययन गरेको थियो । वर्षौंसम्म संरचना निर्माण टुंगो नलागेको, बजेट व्यवस्थापनका लागि मन्त्रालय र खेलकुद परिषद् धाउँदा थाकिसकेका जुम्लाबासी बल्ल खुसी भएका छन् भने, राम्रो अभ्यास गर्ने खेलमैदान नभएकै कारण प्रतियोगितामा सोचेअनुसार पदक ल्याउन नसकेका कर्णालीका खेलाडी पनि खुसी भएका छन् ।
२०७९ मा १०आंै राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गरिँदै छ । त्यसका लागि करिब ३ अर्बका संरचना २ वर्षभित्र सकिने गरी निर्माण हुँदैछन् । जसमा जुम्लाको हाइअल्टिच्युट ट्रेनिङ सेन्टर निर्माण प्राथमिकतामा परेको खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले बताए । जुम्लाको हाइअल्टिच्युट ट्रेनिङ सेन्टरसँगै कर्णालीका हुम्ला, सल्यान, सुर्खेत डोल्पालगायतका जिल्लामा करिब ३ अर्बका संरचना बन्ने भएकाले सोही अनुसारको भूगोल र ठाउँमा निर्माण हुँदैछन् । संघीय मन्त्रालय, प्रदेश सरकार स्थानीय तहबीच समन्वय गरी २ वर्षभित्र सबै संरचना तयार गरिने लक्ष्य छ ।

सुर्खेतमा बहुउद्देश्यीय रंगशाला
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न तीन अर्बभन्दा बढीको संरचना निर्माण हुने भएको छ । प्रतियोगिताका अधिकांश खेल सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने भएकाले आवश्यक संरचना प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माण हुने भएका छन् । जसअन्तर्गत कुइनेपानीदेखि पूर्वमा रहेको खेल मैदानलाई बहुउद्देश्यीय रंगशाला बनाइने भएको छ । रंगशाला निर्माणका लागि डीपीआर तयार भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले दशौं रंगशाला, कबर्ड हल र स्विमिङ पुलसहितको बहुउद्देश्यीय रंगशाला निर्माणको डीपीआर तयार पारेको हो । प्रस्तावित डीपीआरमा बहुउद्देश्यीय हुने र एकै ठाउँबाट धेरै खेल खेल्न सकिने गरी तयार पारिएको राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर विश्वमित्र संज्यालले बताए । “रंगशालामा १५ हजार दर्शक अटाउने छन्,” उनले भने ।
कबर्ड हलमा एउटा खेलमा तीन हजार दर्शक अट्ने क्षमतामा निर्माण हुनेछ । उनले भने, “कर्णाली प्रदेशमा बन्न लागेको बहुउद्देश्यीय रंगशाला नेपाल कै पहिलो नमुना रंगशाला हो । बहुउद्देश्यीय रंगशाला नौ बिघा जमिनमा बन्ने र त्यसका लागि सबै पूर्वाधार दुई वर्षमा नै निर्माण गरिसक्ने लक्ष्यका साथ काम अघि बढाइने इन्जिनियर संज्यालले जानकारी दिए ।
१०औं राष्ट्रिय खेलकुदका लागि कर्णालीमा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकार, स्थानीय सरकारसँग सहकार्य गरिने छ । १०औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा नै गर्ने गरी प्रदेश सरकारले तयारी थालेको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए । “हामीले १०औं राष्ट्रिय खेलकुद कर्णालीमा नै हुनुपर्छ भनेर खेलकुद मन्त्रालय र परिषद्लाई भनिरहेका छौं,” उनले भने, “१०औं खेलकुद कर्णालीमा हुनेछ ।”
नवौं राष्ट्रिय खेलकुद २०७७ सालमा गण्डकी प्रदेशमा हुँदैछ भने १०औं राष्ट्रिय खेलकुद २०७९ सालमा कर्णाली प्रदेशमा नै गर्ने गरी अहिलेदेखि नै आवश्यक पूर्वाधार निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाएर लगिने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले बताए ।

३ अर्बका संरचना निर्माण हुँदै
१०औं राष्ट्रिय खेलकुदका लागि कर्णाली प्रदेशमा तीन अर्बका पूर्वाधार निर्माण गर्ने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । कर्णाली प्रदेशको जुम्ला, सुर्खेत, दैलेख, सल्यान र रुकुम पश्चिमको चौरजहारीमा १०औं खेलकुदका लागि तीन अर्बका संरचना निर्माण हुने भएका छन् । प्रतियोगितामा समेटिने २५ देखि ३० प्रकारका खेललाई मध्यनजर गर्दै खेलकुद परिषद्ले मात्र तीन अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको परिषद्का सदस्य सचिव सिलवालले जानकारी दिए ।

हाइअल्टिच्युट खेलले पर्यटन प्रवद्र्धन
१०औं राष्ट्रिय खेलकुदमा उच्च हिमाली क्षेत्रमा हुने हाइअल्टिच्युटका खेलहरू समेटिने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । हाइअल्टिच्युटका खेलहरूले कर्णालीको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने कर्णालीका पर्यटनमन्त्री नन्दसिंह बुढाको विश्वास छ । हाइअल्टिच्युटका खेलको सम्भावना भएका कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, मुगु जिल्लाका पर्यटकीय सम्भावनालाई खेलकै माध्यमबाट प्रवद्र्धन गरिने भएको छ ।