दीननाथ बराल
सोमवार, माघ २७, २०७६
431

      कोरोनाका कारण ६ देशका खेलाडी नआउने 

                                     
पोखरा-कोरोना भाइरसका कारण पोखरामा हुने भनिएको आइटिएफ जुनियर (यू—१८) वल्र्ड -याङकिङ टेनिस प्रतियोगितामा केही देशका खेलाडीहरु सहभागि नहुने भएका छन् । सोमबार देखि पोखरामा संचालन हुने उक्त प्रतियोगितामा १७ देशका खेलाडीहरुले सहभागि हुने जनाइए पनि अन्तिम समयमा आएर ११ देशका खेलाडीहरु मात्र सहभागि हुने भएको प्रतियोगिताका निर्देशक अजय विष्टले बताए ।

अष्ट्रेलिया, इङल्याण्ड सहितका ६ देशका खेलाडीहरु अन्तिम समयमा आएर उक्त प्रतियोगितामा सहभागि नहुने भएको निर्देशक विष्टले जानकारी दिए । कास्की जिल्ला टेनिस संघको आयोजनामा आउँदो फागुन ३ गतेसम्म पोखरा रंगशालाको टेनिस कोर्टमा उक्त प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्र्रतियोगितामा नेपाल सहित ११ देशका ८४ जना खेलाडीहरु सहभागि हुने भएको संघ कास्कीका अध्यक्ष दोर्जे लामाले बताए । उनका अनुसार प्रतियोगितामा नेपालका करिब १० जना महिला तथा पुरुष खेलाडीहरु सहभागि हुने भएका छन् । नेपालका नम्बर वान यू—१८ का खेलाडी आर्यन गिरी र महिला तर्फ अविलासा विष्ट समेत प्रतियोगितामा सहभागि हुने भएका छन् ।
गिरी वल्र्ड -याङकिङको १ हजार ७ सय ९५ औं र विष्ट १ हजार ३ सय ५६ औं स्थानमा रहेकी छन् । प्रतियोगितामा नेपाल सहित हङकङ, सिंगापुर, जापान, अमेरिका, मलेसिया, चाइना, केन्या, भारत, जर्मन, फ्रान्सबाट महिला तर्फ ३८ र पुरुष तर्फ ४६ जना खेलाडीहरु सहभागि हुने भएको प्रतियोगिताका निर्देशक अजल विष्टले बताए । उनका अनुसार कोरोना भाइरसका कारण चाइना सहितका केही देशका खेलाडीहरुले अन्तिम समयमा आएर प्रतियोगितामा सहभागिता नजनाउने भएको बताए । केही दिनसम्म उक्त प्रतियोगितामा १७ देशका खेलाडीहरु सहभागि हुने जनाए पनि अन्तिम समयमा आएर प्रतियोगितामा ६ देशका खेलाडीहरुले सहभागि नजनाउने भएको उनले जनाए । चाइनाबाट करिब १८ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुने जनाए पनि अन्तिम समयमा आएर ६ जना सहभागि हुने भएको निर्देशक विष्टले बताए ।
ग्रेड ५ अन्र्तगतको उक्त प्रतियोगिताको विजेताले ३०, उपविजेताले १८, सेमिफाइनल प्रवेशस गर्नेले ९, क्वाटरफाइनलमा प्रवेश गर्नेले ५ र पहिलो चरणको खेलमा जित हासिल गरेसँगै २ अंक प्राप्त गर्ने भएका छन् । पोखरा रंगशालामा हाल ६ वटा टेनिस कोर्ट भएकोले प्रतियोगिता गर्न धेरै सहज हुने भएको विष्टले जनाए ।