कारोबार संवाददाता
बिहिवार, माघ २३, २०७६
427

विश्वकप क्रिकेट लिग–२ को त्रिपक्षीय शृंखलाको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बलिङ उत्कृष्ट गरे पनि नेपालको पुरानै समस्याका रुपमा रहेको ब्याटिङ नचल्दा लिग अन्तरगतको ओमानविरुद्धको पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको हो ।
१९८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १७९ रनमै समेटियो । जितका लागि सामान्य लक्ष्य पाए पनि ओपनिङमा आएका नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का सस्तैमा आउट भएपछि नेपाली इनिङ धरमराएको थियो ।

नेपालको स्कोर ४ रन हुँदा ज्ञानेन्द्र १ र पारस ३ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका शरद भेषावकर र दिपेन्द्रसिंह ऐरीले नेपालको इनिङ सम्हाल्ने प्रयास गरेपनि ६६ रनको स्कोरमा नेपालले ऐरीलाई गुमाउन पुग्यो ।
नेपाललाई जिताउन निकै संघर्ष गरेका भेषावकर पनि ४४ औं ओभरको पहिलो बलमै ५५ रन बनाउँदै आउट भए । यस्तै नेपालका सन्दीपले २८ तथा विनोद भण्डारीले २६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकसमेत छुन सकेनन् । ओमानका जेशन मक्सुदले तीन तथा विलाल खान र कालिमुल्लाहले दुईरदुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै १९७ रन जोडेको थियो । ओमानका लागि मोहम्मद नदीमले अविजित रहँदै ६९ रन बनाए । यस्तै, सन्दीप गौडले ३३, नशिम खुसीले २८, कप्तान जिशान मक्सुदले २० र अक्युब इल्लासले १६ रनको योगदान दिए। नेपालका लागि करन केसीले सर्वा्धिक चार विकेट लिए । ९ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ४७ रन खर्चिए ।
एकदिवसीय खेलमा डेब्यु गरेका सुशान भारीले तीन विकेट चट्काए । उनले १० ओभरमा १ मेडन राख्दै १४ रन मात्रै खर्चिए । यस्तै, दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए। ऐरीले एक खेलाडीलाई रनआउन पनि गरे ।
प्रतियोगिता अन्तर्गत बिहीबार ओमान तथा अमेरिका बीच खेल हुनेछ । नेपालले आफ्नो दोस्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ ।

 

महिला भलिबलको विश्व वरीयतामा ८७ औं स्थान
अन्तरराष्ट्रिय भलिबल महासंघ (एफआइभीबी)ले सार्वजनिक गरेको विश्व वरीयतामा नेपालले ८७औँ स्थान हासिल गरेको छ । विश्व भलिबलको सर्वोच्च निकाय एफआइभीबीले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले ८७औँ स्थान हासिल गरेको हो ।
एफआइभीबीले अन्तरराष्ट्रिय सहभागिता र सफलताका आधारमा विश्व वरीयता निर्धारण गर्दै आएको छ । वरीयता क्रममा नेपालको ५७ अङ्क रहेको छ ।
त्यस्तै नेपाली महिला भलिबल टोलीले बङ्गलादेशमा यसै वर्ष सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि हासिल गरेको थियो । त्यस्तै नेपालमा नै आयोजना भएको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाली महिला टोलीले एतिहासिक रजत पदक हात पारेको थियो ।
त्यसैगरी वरीयता क्रममा भारत ९७ अंकसहित ५४औँ स्थानमा छ । विश्व वरीयताको शीर्ष स्थानमा भने चीन छ । ३९१ अङ्क जोड्दै चीन शीर्ष स्थानमा रहेको हो । ३८२ अङ्क रहेको अमेरिका दोस्रो तथा ३२८ अङक रहेको ब्राजिल तेस्रो स्थानमा छ ।
यस्तै इटाली चौथो, टर्की पाँचौँ, सर्विया छैटौँ जापान सातौँ, रसिया आठौँ, डोमिनिक गणतन्त्र नवौँ र दक्षिण कोरिया दशौँ स्थानमा छन् ।