कारोबार संवाददाता
मंगलबार, पुष १५, २०७६
473

पोखरा अन्तर्राष्ट्रिय म्याराथन (४२.१९५ किमी) प्रतियोगिताको पुरस्कारको राशि दोब्बर पारिएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले आगामी फागुन ३ गते पोखरामा आयोजना हुने उक्त प्रतियोगिताको पुरस्कार दुई लाख बनाएको हो ।
१४ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७६ मा उपविजेतालाई एक लाख, तेश्रो हुनेलाई ७५ हजार र सान्त्वनालाई १५ हजार रुपैयाँ प्रदान गरिने भएको छ । गत वर्ष उक्त प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

सुजल डेरीको मुख्य उत्पादन सफल दूधको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगितालाई अन्तर्राष्ट्रिय धावकहरुको समेत आकर्षणको केन्द्र बनाउने उद्देश्यले यस वर्ष पुरस्कारको राशिमा वृद्धि गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।
यस वर्ष पनि १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहिनका लागि एक सय मिटर दौडलाई निरन्तरता दिइने भएको छ । १० किलोमिटरतर्फको दौडमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः नगद १५, १० र ५ हजार र ५ किलोमिटर तर्फ १०, ५ र ४ हजार प्रदान गरिनेछ । पोखरा म्याराथनमा कुल २८ जना धावकहरुलाई पुरस्कृत गरिने छ ।