कारोबार संवाददाता
शुक्रवार, पुष ४, २०७६
887

धनकुटा नगरपालिका–३ पारिपात्लेका कृषक डिल्लीबहादुर कार्की बारीमा मकै लगाएको र आँगनमा मकैको थाँक्रो राखेको स्मृतिबाट हराउँदै गएको सुनाउँछन् । यसको कारण हो बाँदर । बाँदरको समस्याले गर्दा खेती गर्न छाड्नु सोही स्थानका अर्का किसान मीनबहादुर कार्कीले पनि ४५ पाथीको बीउ लाग्ने खेत नरोपेको वर्षौं भइसकेको छ । धान र मकैखेतीबाट आम्दानी लिन छाडेसँगै कार्की अन्य खेतीतर्फ लागेको बताउँछन् ।
यस्तो समस्या भोग्ने कार्कीहरू त एक प्रतिनिधि पात्रमात्र हुन् । यस स्थानका सबै किसानको समस्या भनेको बाँदर आतंक नै हो । सदरमुकामनजिकै र बाक्लो बस्ती भएका स्थानमा समेत यस्तो हैरानी किसानले खेपिरहेका छन् भने बसाइँसराई गररेर बस्ती पातलिँदै गएका गाउँ बस्तीको हालत भने झनै दयनीय छ । बाँदरकै कारण धनकुटाको छथरजोरपाटी गाउँपालिका साविक तेलिया गाविसबाट बसाइँसराइ गरेर धनकुटा नगरपालिका–३ स्यौले आएका यज्ञप्रसाद घिमिरेले भने, “बाँदरकै कारण आफ्नो धेरै खेतबारी बाँझो छोड्दै पिता पुर्खादेखि बस्दै आएको जन्मथलो छोड्नु प-यो, आफूले सबै छोडे पनि बाँदरको दुःखले आफूलाई छोडेन ।” नजिकैका सामुदायिक वनबाट दिउ“सै हुलका हुल बा“दर बालीमा पस्छन् यस्तो अवस्थामा किसानले कसरी गरी खाने घिमिरे प्रतिप्रश्न गर्छन् ।

ग्रामीण क्षेत्रमा भने बाँदरसहित अन्य जंगली जनावरको बिगबिगीले किसानलाई हैरान बनाएको छ कृषकको जीविकोपार्जनको मुख्य माध्यम खेती नै हो । खेतीका लागि समयमै मल, सिँचाइ, किराको नियन्त्रणका लागि औषधी उपकरण र प्राविधिक सेवाका साथै कामदार जनशक्ति अभावमा दुःखले निर्वाहमुखी कृषि पेशा गर्दे आएका किसानका लागि वन्यजन्तुको ज्यादती थप टाउको दुःखाइको विषय बनेको किसानको दुःखेसो छ । मान्छे ओल्टोकोल्टो लाग्ने बित्तिकै खत्तम पारिहाल्छ । पहिले पहिले स्थानीयले जनावर तर्साउन घरेलु घरापको प्रयोग गर्थे, अहिले जनावरले यस्ता धरापको वास्तै गर्न छाडेका छन् । उनीहरूले जनावर धपाउन बाँस, खुर्पा, लाठी, खुकुरीजस्ता घरेलु हतियारको प्रयोग गर्छन् ।
लाइसेन्स नभएका भरुवा बन्दुक प्रशासनलाई बुझाएपछि जनावरले झनै दुःख दिने गरेको किसानको गुनासो छ । बाँदरको ज्यादती कै कारण धनकुटामा रहेको राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रमले बगंैचा जोगाउन शिकारी कुकुर, गुलेली र मट््याङ्ग्रासहित गस्ती खटाउने गरेको छ । बाँदरको उपद्रोले नर्सरी र बगैंचा जोगाउनै मुस्किल परेपछि केन्द्रले सरकारी बजेट खर्चेर बाँदर धपाउनकै लागि गस्ती नै परिचालन गरेकोे राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रमले पारिपात्लेका प्राविधिक सहायक गोपाल सिलवालले जानकारी दिए । राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रमको बगैचा भदौदेखि पुससम्म पाँच महिना बाँदर धपाउन खटिने शिकारीले १३ लाख ९५ हजार नौ सय रुपैयाँ रकम ज्यालावापत बुझ्छन् । ज्यालामा खर्च हुने रकम गतवर्ष केन्द्रले टेण्डर गरी बेचेको सुन्तलाको आम्दानीभन्दा चार लाख २० हजार नौ सय रुपैयाँले बढी रहेको सिलवालको भनाइ छ ।

विकास घिमिरे