कारोबार संवाददाता
सोमवार, मंसिर ३०, २०७६
551

सिन्धुपाल्चोक-दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रु बस सुनकोसी गाउँपालिका वडा ७ स्थित स्वाँरा मोडमा खस्दा १५ जनाको मृत्यु भएको छ । आइतबार बिहान लामोसाँघु जिरी सडक खण्डअन्र्तगतको ६ किलोमा सडकबाट खस्दा घटनास्थलमै १२ को मृत्यु भएको हो । तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १९ घाइते छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ८ महिला, ३ पुरुष, २ बालक र एक बालिका रहेका छन् । मृतकमध्ये १४ जनाको सनाखत भएको छ । एक महिलाको नाम खुलेको छैन । दुर्घटनामा दोलखा जिल्ला भिमेश्वर नगरपालिका–९ की ४२ बर्षिया लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितीका २४ वर्षिय महेश तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र सोही स्थानकी उनकी श्रीमती ३५ वर्षिया मैया खत्री, लिसंखुपाखर गाउँपालिका–४ कि ५३ वर्षिया गंगामाया लामा, जुगल गाउँपालिका–७ याङलकोटकी ७ वर्षिया सबिना तामाङ, सोही ठाउँकी ३० वर्षिया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बलेफी गाउँपालिका–५ चिम्लिङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेत, रामेछाप सुनपाती ६ कि जुनमाया तामाङ, मञ्जु तामाङ, सुकबहादुर तामाङ, र भत्तपुर सुर्यविनायक ८ कि ३८ वर्षिया चिनु बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी इन्सपेक्टर नवराज न्यौपानेले जानकारी दिए । अन्दाजी २४ वर्षिय एक महिलाको खनाखत हुन बाँकी रहेको उनले बताए ।
दुर्घटनामा घाइते हरुको काभ्रेको धुलिखेल र ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । ह्याम्स अस्पतालमा लगिएका विरामीहरुको अवस्था गम्भीर रहेको र दुईजनाको टाउकोको शल्यक्रिया गरिएको छ । कालिञ्चोक तिर्थ यात्रा गरी भक्तपुर जाँदै गरेको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै सडकबाट करिब मिटर तल खसेर दुर्घटना भएको थियो । बाटो अप्ठेरो भएकाले राति नै फर्कँदा दुर्घटना हुनसक्ने डरले लिसंखुपाखरको मुडे बजारमा उनीहरु बास बसेका थिए ।
ब्रेक फेल भएको बस जबर्जस्त गुडाउँदा दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।

किशोर बुढाथोकी