कारोबार संवाददाता
बुधवार, मंसिर ११, २०७६
444

पोखरा- विश्व आर्चरी संघबाट प्रतिबन्धमा परेको भारत १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भने सहभागी हुने भएको छ । केही समयअघि प्रतिबन्धित भएको भारतले साउथ एसियन ओलम्पिक काउन्सिलबाट हालसम्म फुकुवा नभएको अवस्थामा पनि अन्तिम समयमा आएर आफ््नो टिमको नाम दर्ता गराएको हो ।
भारतले आर्चरी खेलमा सहभागी हुन अन्तिम समयमा दर्ता गरे पनि खेल्न पाउने–नपाउने अन्योल भएको छ । प्रतिबन्ध फुकुवा नभएसम्म भारत सहभागी हुन नमिल्ने १३ औं साग पोखरा प्राविधिक समितिका अध्यक्ष विद्या मरासिनीले बताए । भारतले महिला तथा पुरुषतर्फ ८÷८ जना खेलाडीहरुको नाम दर्ता गराएको प्राविधिक समितिले जनाएको छ ।
सम्बन्धित विश्व खेल संघबाट कुनै पनि देश त्यस खेलमा प्रतिबन्ध भएको अवस्थामा सागजस्तो खेलमा कुनै हालतमा सहभागी गराउन नमिल्ने नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए । साउथ एसियन ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बस्ने बैठकले दिएको निर्णयका आधारमा भारतका आर्चरीका खेलाडीहरुले खेल्न पाउने वा नपाउने टुंगो लाग्ने भएको छ । श्रेष्ठ नेपाल ओलम्पिक कमिटिका समेत अध्यक्ष हुन् ।