कारोबार संवाददाता
आइतवार, मंसिर ८, २०७६
531

 
१३ औं साग


पोखरा- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने ८ खेलका लागि ४ सय १ जना महिलासहित ७ सय २२ जना खेलाडीहरु सहभागि हुने भएका छन् । यही मंसिर १५ देखि २४ गतेसम्म पोखरामा पनि संचालन हुने १३ औं सागमा पुरुष भन्दा महिला ११ प्रतिशत अर्थात् ८० जना बढी खेलाडीहरु सहभागि हुने भएका हुन् ।

१३ औं साग प्राविधिक समिति पोखराले दिएको तथ्याङ्कको आधारमा पोखरामा हुने सागमा ३ सय २१ जना पुरुष खेलाडीहरु सहभागि हुने भएका हुन् । उक्त खेलमा खेलाडी, अफिसियल सहित ९ सय ८ जना सहभागि हुने भएको समितिले जनाएको छ ।
नेपाल र श्रीलंकाले पोखरामा हुने साग अन्तर्गत ८ खेलमा सहभागि हुने भएका छन् भने भारतले आर्चरी र महिला क्रिकेट खेलमा सहभागि नहुने भएको छ । त्यसै गरी पाकिस्तानले फुटवल, ट्रयाथलन र महिला क्रिकेटमा सहभागि नहुने भएको छ भने मल्दिभ्सले आर्चरी, भारतोलन र ट्रायाथलनमा सहभागि नहुने भएको हो । त्यस्तै बंगलादेशले महिला फुटवल र ट्रयाथलनमा सहभागि नहुने भएको छ भने भुटानले आर्चरी, महिला फुटवल, बिच भलिवल, ट्रयाथलनमा सहभागि नहुने भएको छ ।
१३ औं सागमा आयोजक नेपालका १ सय ५४ जना खेलाडीहरु सहभागि हुँदा सबैभन्दा कम भुटानका जम्मा ३५ जना खेलाडीहरु सहभागि हुने भएको प्राविधिक समितिका सदस्य एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङले बताए ।
उनका अनुसार भारतबाट १ सय २ जना खेलाडी, पाकिस्तानबाट ७३ जना, माल्दिभ्सबाट ६१ जना, बंगलादेशबाट १ सय १४ जना र श्रीलंकाबाट १ सय ४२ जना खेलाडीहरु सहभागि हुने भएका छन् ।