दीननाथ बराल
बिहिवार, मंसिर ५, २०७६
522

पोखरा रंगशालाको प्यारापिट निर्माणको जडान कार्य सुरु भएको छ । यही मंसिर १५ देखि २४ गतेसम्म पोखरामा संचालन हुने १३ औं साग अन्तर्गत महिला फुटवल खेल संचालनको लागि हाल निर्माण हुँदै गरेको पोखरा फुटवल स्टेडिएमको प्यारापिट निर्माण कार्य सुरु भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बरालले बताए ।
रंगशालाको ग्यालरी सीबाट इन्टरलक सिस्टममा बुधबारबाट धमाधम प्यारापिट जडान कार्य सुरु भएसँगै ५ दिनभित्रमा १० हजार सिट क्षमताको प्यारापिट निर्माण गरिने भएको उनले जनाए । निर्माणाधीन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २ दिनअघि फ्रान्सबाट उक्त सामान पोखरा आइपुगेको हो । पोखरा फुटवल स्टेडिएम निर्माणको जिम्मा भारतको ग्रेट स्पोर्टस इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको हो ।

आइतबार ७ कन्टेनर र सोमबार ८ कन्टेनर गरी १५ कन्टेनर प्यारापिटका लागि आवश्यक सामान पोखरा आएको बरालले जनाए । रंगशालाको हालसम्म करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको उनले बताए । रंगशालामा ७ वटा सौचालयसमेत केही दिनमा तयार हुने र खेलाडी चेन्जिङ रुमको समेत व्यवस्था मिलाउने प्रोजेक्टका म्यानेजर हरिबाबु न्यौपाने बताए । उनका अनुसार रंगशालामा अबको ४ दिनमा सेन्थेटिक ट्रयाक समेत निर्माण हुने भएको छ । पोखरा रंगशालाको फुटवल मैदानमा भारतबाट ल्याएको केही दुवो मरेसँगै पुनः विहिबार दुवो रोप्नको लागि भारतबाट दुवो आएको उनले जनाए ।
मंसिर १५ देखि २४ गतेसम्म हुन लागेको सागमा पोखरामा ८ खेल, जनकपुरमा कुस्ती र बाँकी काठमाडौंमा हुनेछ । १३ औं सागमा २७ खेल हुने भएको छ । पोखरामा हुने भनिएको प्याराग्लाइडिङ नहुने भएको छ । टिम दर्ताको अन्तिम दिनसम्म प्याराग्लाईडिङमा तीन टिम पनि दर्ता हुन नसकेसँगै प्याराग्लाइडिङ खेल नहुने भएको साग स्थानिय व्यवस्थापन तथा सहजिकरण समितिका सदस्य एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले बताए । पोखरामा आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, महिला फुटबल र भारोत्तोलन, ट्रयाथलन हुने छन् । केही खेलका भौतिक पूर्वाधार निर्माण सम्पन्न भएका छन् भने केही खेलका भौतिक निर्माण कार्य अन्त्मि चरणमा पुगेको राखेप सदस्य राजेश कुमार गुरुङले बताए ।
पोखरामा हुने ८ खेलमा १ सय ४४ जना नेपाली खेलाडीहरु सहभागि हुने भएका छन् । जसमध्ये ९२ जना पुरुष खेलाडी र ५२ जना महिला खेलाडीहरु सहभागि हुने भएका हुन् । पोखरामा हुने सागको प्रचार प्रसार समेत तिव्र पारिएको प्रचार प्रसार समिति पोखराका संयोजक केशव पाठकले बताए । उनका अनुसार स्टीकर, व्यानर, होर्डिङवोर्ड, स्वागत गेट सहित विभिन्न संचार माध्यममा यसको प्रचार प्रसार गरिँदै गरेको छ ।