कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६
491

लमजुङ- विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको १३ औं सस्करण सोमबारबाट सुरु भएको छ । उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरीएको ‘याक अट्याक २०१९’ साइकल दौड प्रतियोगिता बाजागाजासहित लमजुङ सदरमुकाम बेंसीसहरबाट सुरु भएको हो ।
सुरुका वर्षहरूमा काठमाडौँबाट सुरु भएको प्रतियोगिताको १० औँ संस्करणदेखि बेंसीसहरबाट सुरु भएको हो । समुद्री सतहदेखि ५ हजार ४ सय १६ मिटर उचाइमा पर्ने थोराङ्ला भञ्ज्याङ पास गर्ने गरि प्रतियोगिता सुरु भएको हो । सात दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा पाँचजना नेपाली सहित १२ देशका २५ जना प्रतियोगी सहभागी भएका छन् ।
बेलायती नागरिक फिल इभान्सको आयोजना र नेपालको माउन्टेन बाइक्स कम्पनीको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगिताका लागि नेपालको उच्च हिमाली क्षेत्र उत्तम भएकाले प्रत्येक वर्ष नेपालमा प्रतियोगिता आयोजना गरिएको निर्देशक इभान्सले बताए ।
एक औपचारिक कार्यक्रमकाबीच बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले प्रतियोगिताको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले नेपालले पर्यटन वर्ष–२०२० मनाउने लक्ष्य राखिरहँदा यस्ता खाले अन्तर्राष्ट्रिय प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरे ।
“याक अट्याक्ट” शीर्षकको हिमाली क्षेत्रमा गरिने अन्तर्राष्ट्रिय साइकल दौड प्रतियोगिता भएकाले सम्बन्धित विश्व विजेताहरूको पनि ध्यान आकर्षित भएको छ । निजी क्षेत्रबाट प्रवद्र्धन गरिएको यो प्रतियोगितालाई सरकारी तवरबाट पनि प्रवद्र्धन गर्न सकियो भने विश्वका अझ धेरै खेल पर्यटकहरूलाई नेपाल भिœयाउन सकिने प्रतियोगिता व्यवस्थापक एवं माउन्टेन बाइक कम्पनीका निर्देशक अजय पण्डितले बताए ।
उच्च हिमाली क्षेत्रमा प्रतियोगिता हुने भएकाले यो खेललाई साहासी खेलका रूपमा लिने गरिन्छ । साहासिक खेलाडीलाई स्वास्थ्यको दृष्टिकोणले प्रतियोगिता निकै राम्रो हुने खेलाडीहरूको अनुभव छ ।
प्रतियोगीहरू पहिलो दिन लमजुङ सदरमुकाम बेंसीसहरबाट घलेगाउँ, घनपोखरा हुँदै बेंसीसहरमै घुमेका छन् । दोस्रो दिन बेंसीसहरबाट मनाङको ताल, माथिल्लो मनाङ, ५ हजार ४ सय १६ मिटर उचाइको थोरङला पास गरी मुस्ताङको कागवेनी पुगेर सातौं दिन प्रतियोगिता सकिनेछ । प्रतियोगिताको विजेताले नगद ५ हजार अमेरीकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा बर्सेनि विदेशीहरूको सहभागिता बढ्दै गएको छ । पैदल यात्राका लागि साहासिक मानिएको अन्नपूर्ण पदमार्गमा भएको साईकल दौड प्रतियोगितामा यसअघि पनि १५ भन्दा बढी देशका खेलाडीहरूले सहभागिता जनाउँदै आएका छन् । यद्यपि बैकल्पिक मार्ग र ट्राफिक व्यवस्थापनमा अझै केही कठिनाइ भएकाले यस क्षेत्रमा सरकारले ध्यान दिएमात्रै पनि प्रतियोगिता सञ्चालन गर्न निकै सहज हुने व्यवस्थापकहरू बताउँदै आएका छन् । प्रतियोगिताका लागि नेपालको उच्च हिमाली क्षेत्र उपयुक्त भएकाले प्रत्येक वर्ष नेपालमा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

 

सन्देश पौडेल