कारोबार संवाददाता
सोमवार, कार्तिक २५, २०७६
530

पोखरा- राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले अबको १५ दिन भित्रमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण कार्य सम्पन्न गर्ने दाबी गरेका छन् । पोखरा रंगशालामा आइतबार आयोजना भएको पत्रकार सम्मेलनमा उनले आगामी मंसिर ५ गतेभित्र साग लक्षित निर्माण कार्य सम्पन्न गरेसँगै १५ दिनमा सागको निर्माण कार्य सम्पन्न गर्ने दाबी गरेका हुन् ।
उनले भने, “२-३ खेलका पूर्वाधार बाहेक अन्य खेल पूर्वाधार लगभग तयार भएका छन् । काठमाडौंमा हिटिङ कुलिङमा केही समस्या रहेको छ तर एक हप्तामा हामी हल गर्नेछौं र दशरथ रंगशाला निर्माण अन्तिम चरणमा पुगेको छ । पोखराको फुटबल स्टेडिएम निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।”

सातै राष्ट्रका प्रतिनिधिहरुले नेपालमा आयोजना हुने साग सम्पन्न गर्न आवश्यक कुनै सहयोग परेमा सहयोग गर्ने तत्परता समेत देखाएको उनले जनाए । उनले भने, “यो सागबाट हामीले हाम्रो मित्रतालाई दरिलो पार्नु छ । नेपालको पर्यटनलाई प्रवद्र्धन गर्ने, खेल क्षेत्रलाई प्रवद्र्धन गर्ने र नेपालको इज्जत प्रतिष्ठा, सम्मानलाई अझै उचो पार्ने लक्ष्य राखेका छौं ।”
सागमा प्याराग्लाइडिङ खेलको बारेमा हाल नहुने विषयमा नटुंगिएको सदस्य सचिव सिलवालले बताए । उनले भने, “प्याराग्लाईडिङमा नेपालले दर्ता गरेको छ यसमा भारतले आफ्नो सहभागिताको लागि वचन दिएको छ । अनिवार्य रुपमा खेलाइने खेलमा ४ टिम अन्यमा तीन टिम हुनुपर्छ ।” साग अन्तरगत पोखरामा ९ खेल हुने भनिएपनि प्याराग्लाइडिङ भने हुने नहुने अझै टुंगो लागेको छैन ।