कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
325

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । हालै कप्तानबाट पारस खड्काले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले उपकप्तान रहेका मल्ललाई बुधबार कप्तानको जिम्मेवारी दिएको हो ।
उपकप्तानको जिम्मेवारी भने दिपेन्द्रसिंह ऐरीलाई दिइएको छ । केही साताअघि बसेको क्यान कार्यसमिति बैठकले कप्तानबारे निर्णय गर्न अध्यक्ष चतुरबहादुर चन्द। महासचिव अशोकनाथ प्याकुरेलगायत पदाधिकारीलाई अधिकार दिएको थियो ।

आईसीसीले क्यानको निलम्बन फुकुवा गरेको भोलिपल्टै कप्तान पारस खड्काले राजीनामाको घोषणा गरेका थिए ।
ज्ञानेन्द्र लामो समयदेखि राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान थिए । पारसको अनुपस्थितिमा ज्ञानेन्द्रले राष्ट्रिय टोलीको नेतृत्व गरिसकेका छन् । ज्ञानेन्द्र घरेलु लिगमा फ्रेन्चाइज टिम ललितपुर पेट्रियट्सको नेतृत्व गर्छन् । घरेलु लिगमा पनि उनी राम्रा खेलाडी हुन् ।
ज्ञानेन्द्रले टि–ट्वान्टी अन्तर्राष्ट्रियका २० इनिङमा १६.७० को औसतमा ३३४ रन बनाएका छन् भने ६ एकदिवसीय खेलमा २३.८३ को औसतमा १४३ रन बनाएका छन् । लिष्ट ए मा उनले ४३ इनिङमा एक हजार पूरा गरेका छन् २६.१७ को औसतमा । ज्ञानेन्द्र राष्ट्रिय टिमका भरपर्दा ब्याट्सम्यान मानिन्छन् ।

पारसले दिए बधाइ
यसैबीच, नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी पाएका ज्ञानेन्द्र मल्ललाई पूर्वकप्तान पारस खड्काले शुभकामना दिएका छन् ।
क्यानले मल्ललाई कप्तानको जिम्मेवारी दिएलगत्तै फेसबुकमार्फत् पारसले शुभकामना दिएका हुन् । अनुशासित र इमान्दार खेलाडी मल्लको कप्तानीमा नेपाली क्रिकेट टोली नयाँ उचाइमा पुग्ने पारसले विश्वास व्यक्त गरेका छन् ।
पारसले फेसबुकमा लेखेका छन्, “योग्य व्यक्ति मल्ललाई कप्तानमा नियुक्त गरेकोमा धेरै धेरै बधाइ छ । जोश, अनुशासन र प्रतिबद्धताका साथ देशको सेवा गरेका मल्लप्रति मलाई विश्वास छ कि उनको नेतृत्वमा नेपाली क्रिकेट नयाँ उचाइमा पुग्नेछ ।”
उनले यो समय एक अर्कालाई समर्थन गर्नुका साथै नेपाली क्रिकेटलाई उज्यालोतर्फ पु¥याउनु रहेको बताएका छन् । पारस कप्तान रहँदादेखि नै मल्ल उपकप्तान थिए ।