कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६
632

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । खड्काले मंगलबार राजीनामाको घोषणा गरेका हुन् । खड्का १० वर्षदेखि राष्ट्रिय टोलीका कप्तान थिए ।
राजीनामा घोषणासँगै पारसले फेसबुकमा लेखेका छन्, नेपाल क्रिकेट संघ (क्यान) निलम्बनबाट फुकुवा भएको खबर सुनेर निकै खुसी लागेको छ । नयाँ आएको कार्यसमितिले नेपाली क्रिकेटका लागि राम्रो कार्य गरोस् भन्ने चाहन्छु । मैले आजैका दिनदेखि नेपाली क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।

नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन आईसीसीले फुकुवा गरेको भोलिपल्ट उनले राजीनामा दिएका छन् । पारस नेपाली क्रिकेट टोलीका सफल कप्तान मानिन्छन् । उनले नेपाली क्रिकेटमा लामो समय उत्कृष्ट प्रदर्शन गरेका छन् ।
खड्काले नेपाललाई डिभिजन पाँचबाट एकदिवसीय मान्यतासम्म पु¥याउन महत्वपूर्ण योगदान गरेका छन् । केही समयअघिमात्र उनले कप्तानको जिम्मेवारी सम्हाल्ने खेलाडी तयार भए आफूले राजीनामा दिने बताएका थिए ।
खड्काले क्यान निलम्बन फुकुवाको स्वागत गर्दै क्रिकेटमा नयाँ सुरुआतका लागि पदबाट राजीनामा दिएको बताएका छन् । उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका पारस सन् २००९ मा राष्ट्रिय टोलीको कप्तान भएका थिए । विनोद दासपछि कप्तानको जिम्मेवारी सम्हालेका पारसले १० वर्ष नेपाली क्रिकेटको कप्तानी सम्हाले ।
केही साताअघिमात्र टि–ट्वान्टी क्रिकेटमा शतक बनाएका पारसले एकदिवसीय क्रिकेटमा पनि शतक बनाएका छन् । उनी नेपालका लागि टि–ट्वान्टी र एकदिवसीय क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी हुन् । पारसकै कप्तानीमा नेपालले २०१४ मा पहिलो पटक टि–ट्वान्टी विश्वकप क्रिकेट खेलेको थियो ।
राजीनामा घोषणापछि सञ्चारकर्मीसँग कुरा गर्दै पारसले उनले आफू कप्तान नरहे पनि टोलीको प्रदर्शन अहिलेकै अवस्थामा रहने विश्वास व्यक्त गरे ।
उनले खेलाडी र समर्थकको मायाका कारण सफल खेलाडीका रुपमा चिनिनु नै आफ्ना लागि विशेष रहेको बताए । उनले भने, “लक्ष्य नै थिएन क्रिकेट खेल्ने । भाग्यले साथ दिएर यहाँसम्म आएँ । पाएका अवसर सदुपयोग गरेँ अनि सफल भएँ । यो सबै परिवार, समर्थक र खेलाडीको सहयोग हो ।”
उनले क्यानको निलम्बन फुकुवासँगै नयाँ ढंगले नेपाली क्रिकेट चलोस् भन्ने चाहनाले राजीनामा दिएको उल्लेख गरे । कप्तानीको निर्णय प्रशिक्षक र क्यानले गर्ने उनको भनाइ छ ।