कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
634

पोखरामा पहिलो पटक असोज २९ गते हुन लागेको अन्तर्राष्ट्रिय क्रस कन्ट्री (४२.२ किलोमिटर) दौड प्रतियोगिता छिमेकी मुलुक चीनबाट करिब ४० जना चर्चित धावकहरु सहभागि हुने भएका छन् । पोखरा क्षेत्रको साहसिक खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले आयोेजना हुने उक्त प्रतियोगितामा चीनका ४० जना धावक, पत्रकार, सरकारी निकायका प्रतिनिधि सहितको जम्बो टोली पोखरामा आउने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक विश्वशंकर पालिखेले बताए ।
उक्त प्रतियोगिताको अवसरमा चिनियाँ चर्चित धावकहरुको साथमा विभिन्न संचारमाध्यमका कार्यरत पत्रकारको टोली समेत पोखरा आउने भएकोले पोखरा क्षेत्रको पर्यटन एवं प्रचार प्रसारमा धेरै मद्दत पुग्ने भएको संयोजक पालिखेले जनाए । गण्डकी प्रदेश सरकारले हाल मनाउँदै गरेको आन्तरिक भ्रमर्ण वर्ष सन् २०१९, नेपाल भ्रमण वर्ष सन् २०२० र प्रदेशले सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा उक्त कार्यक्रमले पर्यटन प्रवद्र्धनमा थप मद्दत पुग्ने उनले बताए ।

प्रतियोगितामा नेपाल पुलिस, नेपाली सेना र सशस्त्र प्रहरी बलको एपिएफका तीन विभागीय गरी करिब ३० जना धावक सहभागी हुने अपेक्षा गरिएको संयोजक पालिखेले बताए । उनका अनुसार प्रतियोगितामा तीन जनामध्ये एक महिला अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ । प्रतियोगितामा ४२.२ किलोमिटरको दौड निर्धारण गरिएको छ भने प्रतियोगितामा २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङको दूरी निर्धारण गरिएको छ । उक्त प्रतियोगितामा विजेता खेलाडीहरुको टोलीलाई ट्रफीको साथमा प्रमाणपत्र वितरण गरिने भएको छ । नेपाली खेलाडीहरुको हकमा भने विजता प्रथम, दोश्रो र तेश्रो हुने टिमका ९ जना खेलाडीहरुलाई अन्तर्राष्ट्रिय माउण्टेन रेसमा सहभागि गराइने भएको छ ।
उनले भने, “पोखरालाई मित्रराष्ट्र चीनको पर्यटकीय बजारमा परिचित गराउन र विश्वमै घुम्न जाने संस्कृतिको विकास हुँदै गरेको देशबाट पोखरामा पर्यटक भित्र्याउन मेघा इभेण्टको आयोजना गर्न लागेका हौं । सबैको साथ र सहयोग पाएमा आगामी वर्षमा यसलाई हामीले निरन्तरता दिने छौं ।”
पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउन्टेनियरिङ एण्ड एक्पोरेसन एसोसिएसनको आयोजना एवं पोखरा र कुन्मिन महानगरपालिकाको संरक्षकत्वमा विभिन्न संघ-संस्थाहरुको सहकार्यमा उक्त प्रतियोगिता हुने भएको संयोजक पालिखेले बताए । उक्त प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको छ भने एथलेक्ट सोसाइटी काठमाडौं, जिल्ला खेलकुद विकास समिति कास्की, भूतपूर्व खेलाडी मञ्च पोखरा, सहारा क्लब लगायतका संघसंस्थाको सघाउने भएको उनले जनाए । गण्डकी प्रदेशका सांसद दीपक कोइराला रुपकले प्रदेश सरकारले पोखराको साहसिक खेल पर्यटन प्रवद्र्धनमा ध्यान दिने भएकोले यस्ता प्रतियोगितालाई केही सहयोग गर्ने भएको जनाए ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पोखरा क्षेत्रमा पर्यटकको बसाइ अवधि कम भएकोले यस्ता खेलकुद गतिविधिले पर्यटकको बसाइ अवधि लम्बिने बताए ।
प्रतियोगिता पोखराको बाराही घाटदेखि सुरु भई गौरीघाट, ड्यामसाइड, डेबिड फल्स, छोरेपाटन हुँदै फुर्सेखोला, मट्टीखान, कुभिण्डे, पुम्दी भुम्दीको उल्लेरी लुकुन्स्वारा, शान्ति स्तुपा हुँदै पुनः लिचिबोर्ट देखि पुनः बाराहीघाटमा पुगेर समापन हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।