कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६
582

नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा गर्ने विश्वास दिलाएका छन् । आईसीसीकै सल्लाह र निर्देशनअनुसार काम भैरहेकोले आईसीसीले नै अब बस्ने बैठकबाट क्यानमाथिको प्रतिबन्ध हटाउने उनको दाबी छ ।
उनले भने, “मलाई लाग्दैन कि उसले अब पनि प्रतिबन्ध जारी राख्छ । नेपाल ठूलो सम्भावना भएको देश हो, यो कुरा आईसीसीलाई राम्रोसँग थाहा छ । आईसीसीले पनि नेपाललाई बचाउन खोजेको छ । नेपालको पक्षमा निर्णय गर्छ ।” सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष चन्दले क्रिकेट विकासका लागि गृहकार्य थालिएको सुनाए ।

उनले भने, “निलम्बन फुकुवाको लागि हामीले पत्राचार गरिरहनु पर्दैन । नेपाली क्रिकेटको निकासलाई आईसीसीले दिएको रोडम्याप अनुसार नै हामीले काम पूरा गरेका छौं । आईसीसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ ।”
उनले सरकारी हस्तक्षेप भएको र यसअघि स्वतन्त्र र निष्पक्ष चुनाव नभएकोले आईसीसीले क्यानमाथि प्रतिबन्ध लगाएको भन्दै अहिले आईसीसीकै निर्देशनअनुसार आफूहरुले स्वतन्त्र र निष्पक्ष ढंगले सहमतिमै निर्वाचन सम्पन्न गरेकोले अब चाँडै निलम्बन फुकुवा हुने स्पष्ट पारे । उनले भने, “अन्य कुराहरु सुशासनलगायत काम गर भनेपछि हामी गर्छौं, निलम्बन फुकुवाको लागि क्यानले प्रपोजल हाल्नुपर्ने कुरा छैन । हामीले त आईसीसीले जे भन्यो, त्यही त्यही खुरुखुरु गरेका हौं ।”
अध्यक्ष चन्दले नेपाली क्रिकेटले अब फड्को मार्ने विश्वास दिलाए । “हामी यो क्षेत्रको विकास र विस्तारको लागि योजनाबद्ध तवरले अघि बढिरहेका छौं । खेलाडी छनोटको आधार तय गर्छौं । विगत लामो समयदेखि क्यान निलम्बनमा रहँदा खेलाडी छनोटको कुनै आधार थिएन, मनोमानि ढंगले खेलाडी छनोट गरिएको छ । अब व्यवस्थित ढंगले खेलाडी छनोट गर्छौं ।”
पछिल्लो समय खेल मैदान पनि निर्माण भैरहेको सुनाउँदै अब क्रिकेटले गति लिने दाबी गरे । उनले भने, “म यही मञ्चबाट चाँडोभन्दा चाँडो खेल मैदानहरु निर्माण गर्नको लागि सरकार, राखेप, प्रदेश सरकार र स्थानीय सरकारसँग अनुरोध गर्दछु । प्रत्येक गाउँपालिका र नगरपालिकामा करोडौंको खेलमैदानहरु बनेका छन् । दुर्गम क्षेत्रमा पनि खेलमैदानको लागि त्यत्रो लगानी गरेको छ । यसमा एउटा क्रेज छ । त्यसलाई व्यवस्थित र स्तरीय बनाउनको लागि सबैको साथ र भूमिका अपरिहार्य छ ।”
अध्यक्ष चन्दले राम्रो खेल मैदान भएपछि राम्रो क्रिकेट प्रतियोगिता हुने र राम्रो प्रतियोगिता भएपछि खेलाडीहरुले पनि राम्रो र उत्कृष्ट प्रदर्शन गर्न पाउने सुनाए । सरकारसँग खेलमैदानको लागि सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ । काठमाडौं मूलपानी क्रिकेट रंगशालाको सवालमा पनि राखेपले गरेको काममा सहकार्य गर्ने उनको विश्वास छ । उनले भने, “विगत तीन वर्षदेखि कर्मचारीहरुलाई तलब दिन सकेका छैनौं । हामी सही ट्रयाकमा ल्याउन संघर्षरत छौं । हामी स्टडी गर्छौं । हामी आफ्नो तवरबाट सक्दो प्रयास गर्छौं । राखेपले गरेको काममा सघाउँछौं ।”
खेलाडीहरुसँग सहकार्य गर्ने सुनाउँदै खेलाडीहरु पनि अनुशासित हुनुपर्नेमा उनले जोड दिए । “३६ देखि ४० जनालाई नेशनल सेन्ट्रल कन्ट्याक्टमा ल्याउँछौं । दुईवटा टिम अट्नेगरी हामी होमवर्क गरिरहेका छौं । दुईवटा टिम बनाउने लक्ष्य छ । एउटा सिनियर टिम हुन्छ । अर्को चाहिँ यु–२३ बारे कुरा चलिरहेको छ,” उनले भने ।
निर्वाचनमा पराजित भएका साथीहरुसँग सल्लाह गरी नै अगाडि बढ्ने उनको भनाइ छ । “निर्वाचनमा हारजित एक प्रक्रिया भए पनि क्रिकेटमा लामो समय बिताएका साथीहरुको सल्लाह अनुसार क्यानलाई अगाडि बढाउने योजना छ,” उनले भने ।
उनले विगतमा क्रिकेटका लागि दिएको अनुदान सही सदुपयोग हुन नसकेको आईसिसीको आशंका रहेको पनि सुनाए । उनले भने, “हामीले कुनै खालको गैरपारदर्शी र विवाद हुने काम गर्दैनौं ।” उनले क्यानमा जित्ने व्यक्ति गौण भएको बताउँदै भने, “व्यक्ति गौण हो, संस्था मुख्य कुरा हो । आईसिसीलगायत सरकारले व्यक्तिलाई हेर्दैन ।”
उनले क्यानको सिईओ पनि प्रतिष्पर्धाको आधारमा नियुक्त गर्ने स्पष्ट पारे । उनले भने, “आईसिसीले हामीसँग आर्थिक पारदर्शिताका लागि चुस्त प्रशासन सञ्चालनका लागि सिईओ राख्नुपर्ने शर्त राखेको छ । हामी आईसिसीको शर्तमा रहेर काम गर्छौं ।” त्यस्तै उनले प्रादेशिक क्रिकेटलाई सशक्त बनाउने आफ्नो योजना रहेको सुनाए ।
अहिले निजीस्तरबाट भैरहेका विभिन्न लिगहरुलाई पनि कानुनबमोजिम बनाउने उनको भनाइ छ । अध्यक्ष चन्दले यही वर्ष आफूहरुले देशकै ठूलो नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने पनि बताए । उनले भने, “अब नेपालको आधिकारिक र सबैभन्दा ठूलो लिग एनपिएल हुन्छ । यो लिगबाट नेपाली खेलाडी र नेपाली क्रिकेटले ठूलो प्रगति र फड्को मार्छ ।”