दीननाथ बराल
आइतवार, आश्विन १२, २०७६
1039

पोखरा रंगशालाको फुटवल मैदानमा भारतको कोलकत्ताबाट ल्याएको दुबो रोप्न सुरु गरिएको छ । निर्माण हुदै गरेको पोखरा रंगशालाको फुटवल मैदानमा भारतीय कोलकत्ताको बर्माडा ग्रास (दुबो) रोप्न सुरु गरिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ई. दीपक बरालले बताए ।
पहिलो चरणमा एक गाडी अर्थात १५ हजार बर्गफिट दुबो पोखरा आएको उनले बताए । भारतको नाकाबाट उक्त गाडी नेपाल भित्रिनको लागि प्राविधिक कारणवश तीन दिनसम्म रोकिन पुगेको ई. बरालले जनाए । उक्त दुबोमा माटो समेत टासिएकोले गर्दा भारतबाट नेपाल ल्याउन केही कठिनाई भएको उनले गुनासो गरे । खास दुबो लोड गरेको ४ दिन भित्र पोखरा ल्याउनु पर्नेमा प्राविधिक कारणले भारतमा तीन रोकिदा पनि उक्त दुबो एसि गाडीमा ल्याएकोेले गर्दा हल्का ओइलाएको जस्तो देखिए पनि एक हप्तामा मौलाएर आउने ई. बरालले जनाए । पोखराको भन्दा कोलकक्ताको तापक्रम बढी भए पनि पोखरामा उक्त दुबो राम्रोसंग सर्ने प्राविधिक टोलीको आधारमा आफुहरूले भारतको दुबो रोजेको उनले प्रष्ट पारे । भारतको कोलकक्ताबाट हिडेको करिब एक सातामा पोखरामा आईपुगेसंगै विहिबार रातरात उक्त दुबो रंगशालाको दक्षिण पुर्वी कर्नरबाट दुबो रोप्न सुरु गरिएको हो ।

ई. बरालले भने “पोखरा रंगशालाको फुटबल मैदान भरीका लागि ९० हजार बर्गफिट बर्माडा ग्रास दुबो कोलकत्ताबाट ल्याउनको लागि अग्रिम बुकिङ समेत गरि सकेका छौं, बाँकी दुबो दशैं अघि नै आई सक्छ । ” फुटबल मैदान निर्माणको अन्तिम घडिमा आर्टिफिसियलबाट नेचुरल फुटबल मैदान निर्माण गर्ने निर्देशन पाएसंगै आफुहरूले पोखराको वातावरण अनुकुल हुने गरी कोलकत्ताबाट दुबो ल्याउन केही दिन ढिलाई भएको ई.बरालले बताए । केही दिन अघि पोखरामा लगातार जसो पानी पर्दा पोखरा रंगशाला निर्माण अन्र्तगत दुबो ल्याउन, ट्रयाकमा पिच गर्न समेत केही दिन ढिलो भएको उनले जनाए ।
आगामी डिसेम्बर १ देखि १० तारिख १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा हुने महिला फुटबल प्रतियोगिताको लागि आफुहरूले फुटबल स्टेडियम निर्माण गरी सक्ने र हाल निर्माण कार्य तिव्र गतिमा अघि बढेको ई. बरालले जनाए । उक्त प्रोजेक्ट आफुहरूको लागि अग्नी परिक्षा नै भएको दाबी गर्दै प्रोजेक्ट म्यानेजर ई. बरालले तोकिएको मितिमा आफुहरूले ८ देखि १० हजार सिट क्षमताको प्यारापिट सहितको फुटवल मैदान निर्माण गर्ने दाबी गरे । उनका अनुसार हालसम्म पोखरा रंगशाला निर्माणको करिब ५० प्रतिशत जसो निर्माण कार्य सम्पन्न भएको छ । चार वटा केन्द्र मध्य हाल आफुहरूले ए र सी ग्रिड तर्फ केन्द्रित भएको उनले जनाए । प्यारापिट, ट्याक, सौचालन लगायतको काम एकै साथ अघि बढेको ई. बरालले जनाए । डबल लग सिस्टममा निर्माण हुने प्यारापिटको आवश्यक सामाग्रि पोखरामा भित्रिएको १५ दिनमै जडान कार्य सहितको फिनिसिङ हुने उनले दाबी गरे । भारतको ग्रेट स्पोट्र्स इन्फ्रा इन्डियाले नेपालको एम.ए.कन्सट्रक्सन जावलाखेल ललितपुरको जोइन्ट भेन्चरमा एक अर्ब २८ करोडको लागतमा उक्त प्रोजेक्टको जिम्मा लिएको हो ।
१८ हजार ५ सय दर्शक क्षमताको फुटबल प्यारापिट निर्माण हुने जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । पोखरामा फुटबल दर्शक धेरै भएकाले दर्शक क्षमता २० हजारसम्म पुराउन निर्माण कम्पनीलाई राखेपले समेत आग्रह गरेको राखेप सदस्य राजेश कुमार गुरुङले बताए ।
मन्त्री पुनको संयोजकत्वमा पोखरामा सागको व्यबस्थापन समिति
पोखरामा पनि सागका ९ खेल हुने भए पछि गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा स्थानिय व्यवस्था सहजीकरण समिति चयन भएको छ । १३ औं साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले सागको अर्को आयोजनास्थल पोखराका लागि मन्त्री पुनको संयोजकत्वमा ५ सदस्यीय उक्त समिति चयन गरेको हो ।
समितिका सदस्यहरूमा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङ, राखेपका सदस्य राजेश कुमार गुरुङ र सदस्य सचिवमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी रहेकाछन्। त्यसै गरी विभिन्न समितिको संयोजक समेत तोकिएको छ ।
यसैबिच पोखरामा महिला क्रिकेट समेत हुने भएको राखेप सदस्य राजेश कुमार गुरुङले बताए । उनका अनुसार महिला क्रिकेट सहित पोखरामा ९ वटा खेलहरू आयोजना हुने भएका हुन्। महिला क्रिकेट पोखरामा २ डिसेम्बर देखि ९ डिसेम्वर अर्थात मंसिर १६ देखि २३ गतेसम्म हुने भएको हो । पोखरामा हुने महिला फुटवल २८ नोवेम्वर देखि ९ डिसेम्बरसम्म, ह्याण्डवल २८ नोवेम्बर देखि ४ डिसेम्वरसम्म, प्याराग्लाइडिङ २९ नोवेम्बर देखि ८ डिसेम्बरसम्म हुने भएको राखेपले जनाएको छ । प्याराग्लाईडिङ, महिला तथा पुरुष ह्याण्डवल, भारतोलन, बिच भलिवल, महिला फुटवल, व्यडमिन्टन, ट्याथलन र आर्चरी हुने भएको हो ।