कारोबार संवाददाता
शुक्रवार, आश्विन १०, २०७६
663

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपालका कप्तान पारस खड्का २७ औं स्थानमा छन् । आईसीसीले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा कप्तान खड्कासँगै वसन्त रेग्मी र सोमपाल कामी पनि परेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेका उनी अलराउन्डरतर्फ २७ औँ स्थानमा यथावत् रहेका हुन् ।
कप्तान खड्काले ९० रेटिङ अङ्क पाएका छन् । उनी दुई महिनाअघि २५ औँ स्थानमा थिए । त्यस्तै ब्याटिङतर्फ भने कप्तान खड्का ६६ औँ स्थानमा छन् ।

बलिङमा नेपाली टोलीका सदस्य रेग्मी ४११ रेटिङ पाउँदै ७३ औँ स्थानमा पुगेका छन् भने कामी ३९१ रेटिङ पाउँदै ७८ औँ स्थानमा झरेका छन् । त्यस्तै अलराउण्डरतर्फ सोमपाल ६७औँ स्थानमा यथावत् रहेका छन् । उनले ४९ रेटिङ अङ्क पाएका छन् ।
आईसीसीको टोलीमा टी–ट्वान्टी वरीयतामा नेपाल ११ औँ स्थानमा यथावत् रहेको छ भने एक दिवसीय वरीयतामा नेपाल १७ औँ स्थानमा रहेको छ ।