कारोबार संवाददाता
बुधवार, आश्विन ८, २०७६
622

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा राष्ट्रिय विश्वविद्यालय खेलकुद संघको व्यवस्थापनमा प्रधानमन्त्री कप चौथो अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही बिहीबारबाट सुरु हुनेछ ।
आयोजकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ । आयोजकका अनुसार ९ विश्वविद्यालय सहभागी हुने प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, चेस र दौड समावेश गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, पोखरा, पूर्वाञ्चल, नेपाल संस्कृत, लुम्बिनी बौद्ध, कृषि तथा वनविज्ञान र काठमाडौं विश्वविद्यालयका गरी ६ सय १२ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय विश्वविद्यालय खेलकुद संघले जनाएको छ । फुटबल लगनखेलस्थित नेपाली सेनाको मैदानमा हुनेछ । भलिबल जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ । यस्तै बास्केटबल एक्मी इन्जिनियरीङ कलेज सितापाइला, दौड आर्मीको मैदान लनखेल, चेस पिनाकल कलेज, टेबल टेनिस राष्ट्रिय टेबल टेनिस तालिम केन्द्र लैनचौर तथा ब्याडमिन्टन नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा हुनेछ ।
१ करोड २६ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा ७६ स्वर्ण, ७६ कास्य, ७६ रजत गरी कुल २ सय २८ पदकमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।