कारोबार संवाददाता
मंगलबार, आश्विन ७, २०७६
641

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा खेलकुदका माध्यमले मुलुकको पर्यटन प्रवद्र्धनका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा गल्फ प्रतियोगिता हुने भएको छ । सोलुखुम्बुको कोङ्दे रीमा हुने बाह्रखरी एभरेस्ट गल्फले संसारकै अग्लो स्थानमा खेलाइने खेलको रेकर्डसमेत राख्नेछ । बाह्रखरी मिडिया प्रालिको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ प्रतियोगिता’को यो तेस्रो संस्करण हो । कोङ्दे रीको उचाइ समुद्र सतहबाट ४ हजार २५० मिटर छ ।
प्रतियोगिताअन्तर्गत पहिलो खेल कोङ्दे रीमा कात्तिक ३ गते हुनेछ भने कात्तिक ९ गते गोकर्ण रिसोर्टमा बाँकी खेल हुनेछन् । गोकर्ण गल्फ कोर्सका वरिष्ठ निर्देशक दीपक आचार्यका अनुसार कोङ्दे रीमा ४० बढी कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गर्नेछन् । दोस्रो चरणमा भने सबै गल्फरले बाँकी रहेका १७ होल खेल्नेछन् । दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्ने आचार्यले जानकारी दिए । प्रतियोगितामा बाह्रखरी गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । गोकर्ण गल्फ क्लबको प्राविधिक सहयोगमा सगरमाथाको कोङ्दे रीमा वान होल गल्फ कोर्स तयार भइरहेको छ ।

बाह्रखरी मिडियाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर दिएको जानकारीअनुसार प्रतियोगिताले मुलुकको पर्यटन क्षेत्रको प्रचार–प्रसार गर्नुका साथै खेल भावनालाई प्रोत्साहन गर्ने र नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा समेत उल्लेखनीय सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतियोगिता संसारकै सबैभन्दा अग्लो ठाउँमा खेलिएको ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुने अपेक्षा आयोजकको छ । नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा हुन लागेको यस प्रतियोगितामा भारत, चीन, अमेरिका, सिंगापुर, श्रीलंका, हङकङ, बेलायतलगायतका मुलुकबाट पत्रकार आउने जनाइएको छ । साथै, सीएनएन, बीबीसी, रोयटर्स, एपी, एएफपी, ब्लुमबर्गजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थालाई पनि आमन्त्रण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अन्तर्राष्ट्रिय पत्रकारहरूको आगमनले विश्व मानचित्रमा नेपालमा गल्फ साथै पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा आयोजकको छ ।
प्रतियोगिताका लागि ४० भन्दा बढी खेलाडी, १५ राष्ट्रिय–अन्तर्राष्ट्रिय पत्रकार तथा केही अन्तर्राष्ट्रिय खेलाडीका साथै विशिष्ट व्यक्तिलाई हवाईजहाज र हेलिकप्टरमा लुक्ला हुँदै कोङ्दे लग्ने योजना छ । प्रतियोगितालाई भाटभटेनी सुपर मार्केट्स तथा सिभास रिगलले सहप्रायोजन गरेका छन् । थाई इन्टरनेसनल एयरलाइन्स पार्टनर, काल्र्सबर्ग बेभरेज यसका पार्टनर छन् भने ग्लोबल आईएमई बैंक र टाटा मोटर्स एच फाइभले पनि पार्टनरसीप गरेका छन् ।
कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै नेपालको पहिचानका लागि गरिएको कार्यक्रम भएको हुनाले आफूहरूले सहकार्य गरेको बताए । नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा बाह्रखरीले आयोजना गरेको यस कार्यक्रममा विश्वभरबाट पत्रकार आउनु सकारात्मक विषय भएको बताए । “विश्वभरका मिडियाको चासो सगरमाथाप्रति देखिन्छ । यो संसारभर समाचारको विषय पनि हो,” उनले भने । बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोगका लागि यो प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने, “नेपालको प्रमोसनका लागि हामीले प्रतियोगिता आयोजना गरेका हौं ।”