कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
403

पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीको सहयोगार्थ चालू आर्थिक वर्षमा ३० लाख रुपैयाँ सहयोग गर्ने आश्वासन दिएका छन् । सहारा क्लबको सोमबार पोखरामा सम्पन्न २१ औं वार्षिक साधारणसभा एवं ११ औं अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले राज्यले गर्ने काम क्लबले गरेकोले सहयोग गर्ने आश्वासन दिएका हुन् ।
क्लबले यस वर्ष आहा रारा गोल्ड कपबाट एक लाख ४९ हजारमात्र बचत भएको जानकारी गराएपछि मुख्यमन्त्री गुरुङले सहयोग गर्ने बचन दिएका हुन् । एसओएस हर्मन माइनरलाई पनि प्रदेश सरकारले चालू आर्थिक वर्षमा ७५ लाख रुपैयाँ सहयोग गर्ने उनले जनाए ।

पोखरामा एकै सिजनमा दुई ठूला फुटबल प्रतियोगिता हुँदा गत वर्ष कम बचत भएको सहारा एकेडेमीमा महासचिव विश्वराज बरालले बताए । उनका अनुसार यसअघिका प्रतियोगितामा २० देखि ३० लाखसम्म बचत हुने गरेको थियो ।
सहारा एकेडेमीलाई दिगो रुपमा सञ्चालनको लागि क्लबले अक्षयकोष समेत स्थापना गरेको छ । उक्त अक्षयकोषमा एक करोड ५६ लाख १५ हजार रुपैयाँ संकलन भएको अध्यक्ष केशवबहादुर थापाले बताए । यसैबीच, यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सन्देश श्रेष्ठ पुरस्कृत भएका छन् । रेडियो अन्नपूर्ण, नागरिक दैनिक, आर्थिक आवाजमा आवद्ध श्रेष्ठलाई क्लबले २० हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको हो ।