कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
383

लामो समयदेखि विवादमा रहेको नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन असोज १० र ११ गते हुने भएको छ । सोमबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र स्वतन्त्र कमिटीका प्रतिनिधिबीचको बैठकले क्यानको निर्वाचन मिति तय गरेको हो । बैठकले निर्वाचन सहज रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्न पनि आग्रह गरेको छ ।
निर्वाचन मिति तोकिएपछि लामो समयदेखिको विवाद समाधान हुने अपेक्षा गरिएको छ । यसअघि आईसीसीले गठन गरेको समितिले असोज ३ र ४ गते निर्वाचन गर्ने एकतर्फी सूचना सार्वजनिक गरेपछि राखेप आफ्नो स्वीकृति नलिएको भन्दै असहमत भएको थियो ।

आईसीसीका कार्यवाहक अध्यक्ष इमरान ख्वाजा, रणनीतिक प्रबन्धक अमर शेख र राखेप सदस्यसचिव रमेश सिलवालबीच सोमबार भएको छलफलपछि नयाँ मिति तोकिएको हो ।
क्यान निर्वाचनको नयाँ मिति तोकिएपछि सिलवालले स्वच्छ र निष्पक्ष निर्वाचन गर्ने, अनि नेपाली क्रिकेटमाथि लागेको निलम्बन फुकुवा गर्ने र क्रिकेट विकासको भावी योजनामा छलफल भएको बताए । सहमति अनुसार क्यानको निर्वाचन स्वतन्त्र समिति र राखेपका प्रतिनिधिहरूको रोहवरमा हुनेछ ।
नयाँ कार्यसमिति चुनिएपछि निलम्बन फुकुवाको लागि आईसीसीसमक्ष अनुरोध गरिने सहमति भएको छ । आगामी अक्टोबर १३ मा हुने आईसीसीको बोर्ड बैठकमा निलम्बन फुकुवा गर्ने विषय राख्ने छलफल भएको बताइएको छ ।