कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
382

जुम्लामा आयोजना भएको दोस्रो जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ धिर बुढा र महिलातर्फ राममाया बुढाले हात पारेका छन् । स्वदेशी तथा विदेशी ६३ जना अल्ट्राधावक सहभागी अन्तर्राष्ट्रिय स्तरको दौडमा महिला र पुरुष दुवै विधामा जुम्लाकै खेलाडी विजेता भएका छन् ।
धिरले ५ घण्टा १३ मिनेट ३९ सेकेण्डमा ४९ किलोमिटर दुरी पार गरेका थिए । भने राममायाले ६ घण्टा ४६ मिनेट ३५ सेकेण्डमा दुरी पार गरेकी थिइन् । जुम्लाको चन्दननाथदेखि मुगुको रारा तालसम्मको दौडमा द्वितिय र तृतिय पुरस्कार पनि जुम्लाकै खेलाडीले जिते । पुरुषतर्फ दोस्रो धिरेन्द्र भण्डारी (५ घण्टा १९ मिनेट ३८ सेकेन्ड) र तृतिय देवराज महतारा (५ घण्टा २३ मिनेट ३ सेकेण्ड) भए । महिलातर्फ मञ्जु रावतले ६ घण्टा ४६ मिनेट ४० सेकेण्डमा र रेजिना भण्डारीले ६ घण्टा ४६ मिनेट ५७ सेकेण्डमा दुरी पार गरे ।

कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहिका अनुसार प्रतियोगिताको पुरस्कार रारातालमै औपचारिक कार्यक्रम गरी बीच प्रदान गरिएको छ । प्रतियोगितामा पुरुष तथा महिलातर्फ प्रथम, द्वितिय तृतिय हुने खेलाडीलाई क्रमशः जनही ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार तथा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरियो । साथै प्रतियोगितामा जुम्लादेखि रारासम्म दौडेने बाँकी ५७ जना खेलाडीलाई प्रोत्साहनस्वरुप जनही ५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै आइतबार बिहान भएको ५ किलोमिटर र १ किलोमिटर दौड प्रतियोगिताका उत्कृष्ट हुनेलाई खेलाडीलाई पनि पुरस्कार वितरण गरिएको छ । ५ किलोमिटर दौड प्रतियोगिताको उपाधि महोत्तरीका नारायाण कुमार कुशवाहाले जितेका छन् ।