कारोबार संवाददाता
बिहिवार, भदौ २६, २०७६
338

गोरखा-लिगलिकोट, सिरानचोक, गोरखा दरबार म्याराथन दौड आरुघाट गाउँपालिका थुमिका भीमबहादुर गुरुङले जितेका छन् ।
दौडमा सहभागी ११३ जनालाई पछि पार्दै निर्धारित ४२ किलोमिटर दूरी तीनघण्टा १७ मिनेट दुई सेकेण्डमा पार गरेर गुरुङ विजयी भएका हुन् । उनले नगद एक लाख ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । गुरुङ पूर्वनेपाली सेना हुन् । उनी अहिले अन्तर्राष्ट्रिय म्याराथनमा भाग लिँदै आएका छन् । दौडको रुटको भूगोलका आधारमा प्रतियोगितालाई म्याराथन नभई अल्ट्रा ट्रेल रेसका रूपमा विकास गर्नुपर्ने विजेता गुरुङले सुझाव दिए ।

नेपाल निर्माणको उत्पत्तिस्थल लिगलिगकोटदेखि सिरानचोक हुँदै नेपाल एकीकरणको जग गोरखा दरबारसम्म आयोजना गरिएको सो म्याराथनमा रुकुमका दुर्गाराज बुढा दोस्रो भएका छन् । उनले निर्धारित दूरी तीन घण्टा १७ मिनेट ४५ सेकेण्डमा पार गरेका थिए । बुढाले एक लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै नेपाली सेनाका रणसिंह दलका सबिन लामाले निर्धारित दूरी तीन घण्टा ३० मिनेट २ सेकेण्डमा पूरा गरी तेस्रो हुन सफल भएका छन् । उनले ७५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।
‘नेपालको उत्पत्तिदेखि जगसम्म’ भन्ने नाराका साथ गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रणसिँह दल गणको आयोजनामा भएको म्याराथनमा उत्कृष्ट १० धावकलाई पुरस्कृत गरिएको छ । जसअनुसार तनहुँका सुरेन्द्र चापागाई चौथो, मोरङका याङदेव राई पाचौं, सशस्त्र प्रहरीका खेमबहादुर खत्री छैटौं, नेपाली सेनाको श्रीनाथसिंह दलका जुनेश खडका सातौ, रणसिंह दलका रामजी बस्नेत आठौं, नेपाली सेनाको श्रीजंगसिंह दलका दोर्जे तामाङ नवौं र गोरखनाथ गणका कृष्णसुन्दर टुईटुई दशौं भएका छन् । प्रतियोगितामा चौथो, पाचौं, छैटौं, सातौ, आठौं, नवौ र दशौ हुनेले क्रमश नगद ५० हजार, ३५ हजार, ३० हजार, २५ हजार,२० हजार, १५ हजार र दश हजारका साथमा मेडल र प्रमाणपत्र पाएका छन् । दौडमा ११४ जना सहभागी थिए ।
म्याराथन पछि आयोजित पुरस्कार वितरण समारोहमा सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले चार सय ६० वर्ष पहिले लिगलिगकोटका राजा द्रब्यशाहले गोरखा राज्यमा राज्याभिषेक गरेको दिनको स्मरणमा उनले प्रयोग गरेको पदमार्गलाई आधार बनाएर म्याराथन गरेको जानकारी दिए । यो प्रतियोगितालाई बर्सेनि निरन्तरता दिने उनको भनाइ छ । द्रब्यशाहले विसं १६१६ भदौ २५ गते गोरखा नगरपालिकाको पश्लाङ चौतारोमा राज्याभिषेक गरेका थिए । राज्याभिषेक गरेको ठाउँमा हाल उनको शालिक रहेको छ ।
इतिहास चिनाउन र फैलाउन म्याराथन सफल भएको पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेंलले बताए । नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरेको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए । “हामीले इतिहासको माध्यमबाट राष्ट्रिय एकताको स्मरण गराउने प्रयास गरेका हौं,” उनले भने, “पृथ्वीनारायण शाहले एकीकरण गर्ने क्रममा गोरखाबाट नुवाँकोट, हनुमानढोका दरबारसम्म पुगे । यी ठाउँलाई समेत जोडेर युनिफिकेसन ट्रेलका रूपमा विकास गर्ने विषयमा पनि हामी छलफलमा छौं ।” मेयर पन्तको अध्यक्षतामा भएको म्याराथन समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, नेपाली सेनाको तीन नं बाहिनीका सहायक रथी सागर थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापालगायतले मन्तव्य ब्यक्त गरेका थिए ।