दीननाथ बराल
आइतवार, श्रावण १९, २०७६
440

पोखरा-विगत लामो समयदेखि पोखराकोे सहारा क्लबले आहा रारा गोल्डकप फुटबल प्रतियोगिता गर्दै आउने क्रममा उक्त प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा लगानी गर्दै आएको छ । हरेक वर्षजसो १५ देखि ३० लाखसम्म बचत गर्न सफल भएको क्लवले गत बर्षको आहा रारा गोल्डकपबाट अघिल्ला संस्करणको तुलनामा १० प्रतिशत पनि बचत गर्न सकेको छैन । प्यारापिट बिना र करिब एक महिनाको दौरानमा पोखरामा दुई ठूला फुटबल प्रतियोगिता हुनुले क्लबले यस वर्ष अघिल्लो वर्षको तुलनामा १० प्रतिशतभन्दा कम बचन गर्न सफल भएको क्लवले शनिबार पोखरामा आयोजित आय व्यय सार्वजनिक कार्यक्रममा जानकारी गराएको हो ।
पोखरा मनकामना केवलकार कप फुटबल प्रतियोगिता १७ औं आहा राराभन्दा करिब एक महिनाअघि पोखरा रंगशालाको खेल मैदानमा भएको थियो । १७ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७५ बाट १ लाख ४९ हजार ३ सय २६ रुपैयाँ मात्र बचत भएको क्लवका कोषाध्यक्ष एवं अर्थ संकलन उपसमितिका सह संयोजक राजु लालचनले बताए । गत फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा सञ्चालन भएको सो प्रतियोगिताबाट उक्त रकम अघिल्लो वर्षभन्दा करिब ९४ प्रतिशतले कम बचत भएको हो ।

अघिल्लो वर्ष १६ औं आहा रारा गोल्डकपमा कुल २३ लाख ७६ हजार ९७ रुपैयाँ बचत भएको थियो । १५ औं संस्करणबाट २७ लाख बढी बचत भएको थियो । १७ औं आहा रारा गोल्ड कपबाट  ७० लाख ७८ हजार ७ सय ८६ रुपैया आम्दानी भएको क्लवले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ६९ लाख २९ हजार ४ सय ६० रुपैया खर्च भएको कोषाध्यक्ष लालचनले जनाए ।
  गेट टिकटबाट १५ लाख ५० हजार २ सय ६५ रुपैया आम्दानी भएको छ भने व्यानर तथा आर्थिक सहयोगबाट १८ लाख ५५ हजनार ४ सय ५० रुपैयँ आम्दानी भएको कोषाध्यक्ष लालचनले जनाए । मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउबाट १३ लाख ५१ हजार रुपैया आम्दानी भएको उनले जनाए । राखेप र गोर्खा ब्रुअरी नेपालबाट ४-४ लाख, हिमांश एजुकेसन कन्सल्टेन्सीबाट ४ लाख १ हजार आम्दानी भएको थियो । सहारा एकेडेमीमा आहा राराको बचत रकमले खर्च गर्दै आएको क्लबले यस वर्षबाट भने सहारा एकेडेमी अक्षयकोषको रकम प्रयोग गर्ने भएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए ।
उक्त कोषमा हालसम्म करिब १ करोड २० लाखभन्दा बढी रकम संकलन भएको उनले जनाए ।  उक्त रकमबाट संकलन भएको व्याजको पैसा एकेडेमीमा खर्चिने क्लबले जनाएको छ । त्यसैगरी खेलाडीहरूको दैनिक भ्रमणमा २३ लाख १३ हजार ६ सय ४१ रुपैयाँ खर्च भएको छ भने पुरस्कार एवं प्रोत्साहन स्वरुप शिर्शमा १३ लाख २२ हजार, प्रचार–प्रसारमा ४ लाख ९७ हजार २ सय ५७ रुपैयाँ खर्च भएको थियो । त्यसै गरी रेफ्री खर्चमा २ लाख ७८ हजार ८ सय १० रुपैयाँ, मैदान, स्टेज, प्यारापिट व्यवस्थापन र अतिथि सत्कारमा ८ लाख ७७ हजार ४ सय २७ रुपैयाँ खर्च भएको कोषाध्यक्ष लालचनले जनाए । सहारा एकेडेमीमा १३ जिल्लाका हाल २७ जना बालकहरू फुटबल एकेडेमीको रुपमा आश्रित भएको क्लबले जनाएको छ ।