केशव समर्पण
बुधवार, असार २५, २०७६
441

प्रदेश ३ मा खेलकुद परिषद् गठन

हेटौंडा-प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद परिषद् गठन गरेको छ । काठमाडौंका सूर्यलाल भण्डारीलाई सदस्य सचिवको जिम्मेवारी तोकिएको छ । भण्डारीसहित ६ जना सदस्यलाई सामाजिक विकासमन्त्री युवराज दुलालले मंगलबार एक समारोहबीच सपथ ग्रहणसमेत गराएका छन् ।
प्रदेश खेलकुद परिषद् कुल २१ सदस्यीय हुने भनिए पनि पहिलो चरणमा ६ जनालाई मात्र नियुक्त गरिएको र परिषद्ले केही समयमा पूर्णता पाउने मन्त्रालयले जनाएको छ । प्रदेश खेलकुद परिषद् सदस्यहरूमा माधव तिमल्सिना, कल्पना शर्मा, उत्तम गुरुङ, विकास तामाङ र ममिता श्रेष्ठ रहेका छन् ।

प्रदेश ३ को असार ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सदस्य सचिवमा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । खेलकुद परिषद्को सदस्य सचिवको पदभार ग्रहण गरेसँगै भण्डारीले महत्वकांक्षीय योजना सुनाएका छन् । उनले प्रदेशका स्थानीय तह र विद्यालयमा खेल मैदान, प्रत्येक निर्वाचन क्षेत्रमा कभर्डहल निर्माणका साथै प्रदेशका १३ वटै जिल्लामा मिनी रंगशाला निर्माण गर्ने योजना अघि सारेका छन् । प्रदेश सरकारको नीतिअनुसार आफू अघि बढ्ने बताउँदै उनले आफ्नो पाँच वर्षे कार्यकालमा खेलकुद क्षेत्रमा महत्वपूर्ण काम गर्ने प्रतिबद्धता जनाए ।
खेलकुदको विकास गर्न सबैमा खेल भावनाको पैदा गर्ने उनको भनाइ थियो । प्रदेश खेलकुद परिषद्को छुट्टै कार्यालय स्थापना गरी काम अघि बढाइने उनले सुनाए । परिषद् सदस्यको सपथ ग्रहण गराएसँगै मन्त्री दुलालले प्रदेश सरकार खेलकुदको विकासका लागि सधैं प्रतिबद्ध रहेको बताए । खेल क्षेत्र फराकिलो क्षेत्र भएका कारण प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गरेको र अपुग भएमा अझै बजेट थपिने बताए । खेलकुदको क्षेत्रमा प्रदेश सरकारले चालू आर्थिक वर्षमा ४५ करोड रुपैयाँ छुट्याएकोमा आगामी आवमा उक्त बजेटलाई बढाएर ६८ करोड रुपैयाँ पु-याएको छ ।