कारोबार संवाददाता
मंगलबार, असार २४, २०७६
399

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको छ । जीतसँगै नेपाल यु –१९ एशिया कपमा प्रवेश गर्न सफल भएको छ । यो नेपालको लगातारको दोश्रो जित हो । सन् २०१७ मा पनि नेपालले हङकङलाई ५ विकेटले हराएको थियो ।टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले १६ दशमलव १ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग-यो । नेपालको जीतमा पवन शर्राफले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै रित गौतमले १३ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १२ तथा खड्कबहादुर बोहोराले ८ रन जोडे । बलिङतर्फ हङकङका रौनक कपुरले दुई विकेट लिए भने मोहमद हसन र मोहमद हसन खान एक-एक विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रनमा समेटिएको थियो । खराब शुआत गरेको हङकङले रनको खाता नै नखोली २ विकेट गुमाएको थियो । हङकङका लागि आदित गोरवाराले २४ र काल्हन चल्लुलले १९ तथा रौनक कपुरले १२ रन जोड्नेबाहेका अन्य आठ ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । हङकङलाई कमैमा समेट्ने क्रममा नेपालका सागर ढकालले घातक बलिङ गरे । दश ओभर बलिङ गरेका ढकालले ५ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए । त्यसैगरी कमलसिंह ऐरीले ३ विकेट लिँदा कुशल मल्ल र तिलक राजभण्डारीले १-१ विकेट झारे । यसअघि भएको सेमिफाइनल खेलमा नेपाल मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने हङकङले सिंगापुरलाई डिएल पद्धतिका आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
श्रीलङ्कामा आगामी भदौ ११ गतेदेखि शुरु हुने एशिया कपमा भारत, पाकिस्तान, आयोजक श्रीलङ्का, बङ्गलादेश, संयुक्त अरब इमिरेट्स ९यूएई० र कुवेत सहभागी हुनेछन् ।