कारोबार संवाददाता
बुधवार, असार १८, २०७६
657

 इलाममा आजदेखि आयोजना हुन लागेको ‘प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता ०७६’ को तयारी पूरा भएको छ । आयोजकले मंगलबार सदरमुकाम इलाममा आयोजनाबारे जानकारी गराउँदै सबै तयारी पूरा भएको जानकारी गराएको हो ।
आजबाट सुरु हुने प्रतियोगिता २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ । इलाममा हुने प्रतियोगितामा इलामसहित झापा, पाँचथर र ताप्लेजुङका एक–एक टीमको सहभागिता रहने छ । इलाममा हुने प्रतियोगितामा बुधबारको पहिलो खेल दिउँसो दुई बजे सैनिक युथ क्लव झापा र सयपत्री स्पोर्टिङ क्लव पाँचथरबीच हुने जनाइएको छ । त्यस्तै बुधबारकै दोस्रो खेल रेडहर्ष क्लब इलाम र प्रगतीशिल युवा क्लबबीच दिउँसो चार बजे हुने बताइएको छ ।

प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर एकका अर्थमन्त्री इन्द्र आङ्बोले गर्ने कार्यक्रम छ । यसअघि उदयपुरमा १६ गतेबाट सोही आयोजना सञ्चालन भइरहेको छ । १७ गतेबाट सुनसरीमा समेत प्रतियोगिता सञ्चालन भइरहेको छ । १८ गतेदेखि इलाममा सोहि प्रतियोगिता हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यालयको आयोजनामा हुने प्रतियोगिता उदयपुर, इलाम, धरान र विराटनगरमा आउँदो ३० गतेसम्म सञ्चालन हुने गाईघाटमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
जिल्ला फुटबल संघ इलामले पत्रकार सम्मेलन गर्दै खेल तालिका समेत सार्वजनिक गरेको छ । तालिका अनुसार उदयपुरमा उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र मोरङ गरी पाँच जिल्लाका खेलाडी टिमबीच प्रतिस्पर्धा हुनेछ ।
एन्फाका केन्द्रीय सदस्य तथा आयोजनाका उपाध्यक्ष निरोज खड्गीले यो प्रतियोगिता प्रदेशमा नै पहिलो पटक आयोजना गरिएको जानकारी दिए । प्रदेशका १४ वटै जिल्लाको सहभागिता रहने प्रतियोगिताको सार्वजनिक तालिका अनुसार सुनसरीको धरान रंगशालामा १७ देखि २२ गतेसम्म हुने प्रतिस्पर्धामा सुनसरी, संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटाको सहभागिता रहनेछ ।
उदयपुर, धरान र इलामका विजेता र उपविजेता २-२ टिमबीचको प्रतिस्पर्धा आउँदो २६ देखि २८ गतेसम्म विराटनगरस्थित सहिदस्मृति रंगशालामा हुनेछ । विराटनगरमै ३० गते हुने फाइनल खेलमा विजेतालाई पाँच लाख नगद र मुख्यमन्त्री ट्रफी प्रदान गरिनेछ । उपविजेतालाई तीन लाख नगद र उत्कृष्ट टिमलाई सान्त्वना पुरस्कारस्वरुप ७५ हजार पुरस्कार प्रदान गरिने आयोजक एन्फाले जनाएको छ । प्रदेशका विभिन्न स्थानमा छनौट भएर आएका टीम विच हुने प्रतियोगिताले खेलाडीको मनोवल वढ्ने भन्दै नयाँ खेलाडीहरुमा समेत हौसला वढेको छ । प्रतियोगिता सम्पन्न गर्न एक नम्वर प्रदेशले एक करोड र एन्फाले ३३ लाख रकम विनियोजन गरेका छन् ।