कारोबार संवाददाता
शुक्रवार, बैशाख ६, २०७६
543

सुर्खेत- कर्णाली प्रदेशमा अहिलेसम्मकै ठूलो पुरस्कार राशी भएको खेलकुद प्रतियोगिता ‘कर्णाली प्रिमियर’ लिग हुने भएको छ ।
कर्णाली क्रिकेट एकेडेमीले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रिमियर लिगको दोस्रो संस्करणको पुरस्कार राशी सार्वजनिक गरेको हो । प्रतियोगितामा विजेता हुनेलाई पाँच लाख नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक एकेडेमीका अध्यक्ष जीवन शाहीले बताए । उनका अनुसार प्रतियोगिताको उपविजेतालाई दुई लाख, म्यान अफ दि सिरिजलाई ५० हजार, वेष्ट बलर र वेष्ट ब्याट्सम्यानलाई २०-२० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । यही वैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको अध्यक्ष शाहीले जानकारी दिए । लिगअन्तर्गतको क्रिकेट प्रतियोगितामा विभिन्न ठाउँका पाँच र तीन वटा विभागीय टोलीको सहभागिता रहने भएको छ ।आयोजकका अनुसार त्रिभूवन आर्मी क्लव, पुलिस क्लब, लालिगुराँस क्रिकेट क्लव, महेन्द्रनगर क्रिकेट क्लव, मध्यपश्चिम क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी र कर्णाली ११ ले प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराएका हुन् ।

प्रतियोगितामा ८ टिमलाई २ वटा समूहमा विभाजन गरी खेलाईने छ । एक-एक खेलमा प्रत्येको समूहको प्रतिस्पर्धाका आधारमा छनोट भएका उत्कृष्ट दुई वटा समूहले सेमिफाइनलमा खेल्ने एकेडेमीका अध्यक्ष शाहीले जानकारी दिए । लिग–कम नक–आउट प्रणाली सञ्चालन हुने प्रतियोगिता आईसीसीको नियम अनुसार खेल खेलाइने उनले बताए । उनका अनुसार प्रतियोगितामा सहभागी हुने प्रत्येक समूहको आवास र खानाको व्यवस्था आयोजकले नै गर्ने छ । प्रतियोगितामा राष्ट्रिय स्तरका ख्यातिप्राप्त खेलाडीहरुका साथै केही बिदेशी खेलाडीहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको उक्त प्रतियोगिताको मुख्य प्रायोजक सीजी गु्रपको वाइवाइ चाउचाउ रहेको छ ।
वीरेन्द्रगरस्थित कालुङचोक मैदानमा हुने प्रतियोगिता हेर्नका लागि ३० रुपैयाँ, एक सय र पाँच सयको टिकट शुल्क रहेको आयोजकले जनाएको छ । यो प्रतियोगिता कर्णाली प्रदेशमा अहिलेसम्म आयोजना गरिएका क्रिकेट मात्र नभई सबै खेलकुद तर्फकै सबैभन्दा ठूलो पुरस्कार राशीको हो ।