कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४
1585

स्याङ्जा-स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका किसानले सामूहिक आलुखेती गर्न थालेका छन् । जिमुहा कृषि उपज कृषक सहकारी संस्थामा आबद्ध ५६ जना किसानले १० रोपनी जग्गा भाडामा लिएर सामूहिक आलुखेती गर्न थालेका हुन् ।
स्थानीय कसानले निर्वाहमुखी आलु खेतीलाई व्यावसायिक बनाउन संस्था दर्ता गरी समूहमार्फत खेती सुरु गरेका हुन् । नमूना नगदे बाली उत्पादन कार्यक्रममार्फत राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्र खुमलटार ललितपुरबाट पूर्वमूल बीउ ल्याई बीउलाई स्थानीय हावापानी र माटो अनुसारको गुणस्तरीय उन्नत बीउ बनाई सामूहिक आलु खेती सुरु गरिएको हो ।

सामूहिक रूपमा व्यवसाय गर्दा सजिलो र उत्पादित कृषिजन्य वस्तुको बजारीकरणमा महत्वपूर्ण सहयोग हुने विश्वासका साथ खेती गरिएको जिमुहा कृषिउपज कृषक सहकारी संस्थाका अध्यक्ष रुमलाल कँडेलले बताए । उनका अनुसार भाडाको जग्गामा लगाएको आलु खनि सकिएकाले अब ६ रोपनीमा गोलभेडा र ४ रोपनीमा मकैको बीउ उत्पादन गरिने भएको छ ।
जिमुहामा उत्पादित आलु स्वादका दृष्टिले समेत उत्कृष्ट रहेकाले खरिद गर्न व्यापारीहरू घरघरमै आउने गरेकाले बिक्रीका लागि समस्या नरहेको कृषक बताउँछन् । अध्यक्ष कँडेल स्वयंले तीन महिनाको अवधिमा खाने आलु र बीउ आलुको बिक्रीबाटै ब्यक्तिगत ७ सात लाख आम्दानी गरेको सुनाए ।
आलुका लागि जिल्लाकै पकेट क्षेत्र मानिने यस स्थानमा उत्पादन भएको आलु तथा बीउहरू स्याङ्जासहित भैरहवा, बुटवल, पोखरा, पाल्पा, तनहुँसम्म बिक्री हुने गरेको संस्थाले जनाएको छ । संस्थाले बीउका लागि उत्पादन भएको आलु पछिसम्म जोगाई राख्न भैरहवामा रहेको कोल्ड स्टोरमा भण्डारण गरेको छ । “कोल्ड स्टोरमा भण्डारणका लागि मात्रै प्रतिकिलो ५ र ढुवानी भाडा, लोड अनलोडसहित प्रतिकिलो १० खर्च लाग्छ,” सहकारी संस्थाका उपाध्यक्ष चक्रपाणी कँडेलले भने, “गएको सिजनमा संस्थाले भैरहवामा रहेको कोल्ड स्टोरमा २ सय टन आलुको बीउ भण्डारण गरेको थियो ।”
आलु लगाउने बेलामा ल्याइने बीउलाई संस्थाले मूल्य निर्धारण गरेर बिक्री गर्ने गरेको छ । जिमुहामा व्यावसायिक रूपमा उत्पादित आलुको बीउको बजारीकरणमा सहयोग र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै गल्याङ नगरपालिकाले नगरका १० वटै वडामा ३० टन आलु सहुलियत दरमा वितरण गरेको गर्ने गरेको छ ।
जिमुहामा विशेष गरी जनकदेव, खुमल, उज्जल, डेजिरलगायतका आलुका बीउ उत्पादन गर्ने गरिएको स्थानीय कृषक चतुर्भुज पन्थी बताए । आलुका लागि बलौटे दोमट माटो बढी उपयुक्त हुने भए पनि यहाँको माटो चिम्टयाईलो रातो रहेकाले माटोको सुधारका लागि जिल्ला कृषि विकास कार्यालय स्याङ्जामा परीक्षणका लागि सिफारिस गरिएको पन्थीले जानकारी दिए ।
आँधीखोला पानी उपभोक्ता समूह (आक्वा) अन्तर्गत नमूना नगदे बाली उत्पादन कार्यक्रम र जिमुहा कृषि उपज कृषक सहकारी संस्थाले आलुको बीउ उत्पादन गर्दै आइरहेका छन् । नमूना नगदे बाली उत्पादन कार्यक्रमअन्तर्गत स्थानीय २ सय ७४ जना कृषक आबद्ध भएर व्यक्ति-व्यक्तिको सक्रियतामा झन्डै १ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरेको कार्यक्रमका उपाध्यक्ष विष्णु गैरेले बताए ।
प्रकाश डोटेल


सातामा धेरै पढिएको