कारोबार संवाददाता
सोमवार, असार २९, २०७७
457

झापामा नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने एउटा गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी ४३ वर्षीय मौसम श्रेष्ठ, कनकाई ४ बस्ने २९ वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका–५ बस्ने २४ वर्षीय एराजुल हक छन् ।
उनीहरूबाट १ लाख ४४ हजारको नक्कली भारतीय रुपैयाँ बरामद भएको छ । बरामद नोटहरू पाँच सय भारुका छन् । गत बुधबार दिउँसो २ बजे खुर्सैद आलमले पाँच सयका भारतीय नोटहरूको कारोबार गरेपछि ती नोट कहाँबाट ल्याएको हो भनी खोजी गर्दा मौसम श्रेष्ठसँग लेनदेन गरेको र श्रेष्ठकै घरमा लुकाइ राखेको गोप्य सूचनाका आधारमा प्रहरीले हिजो छापा मारेको थियो ।

त्यसक्रममा श्रेष्ठलाई घरमै फेला पारी उनको घरबाट पाँच सयका २ सय ८८ थान नक्कली भारतीय रुपैयाँ बरामद भएको थियो । घरको पहिलो तलामा श्रेष्ठ सुत्ने कोठामा टिनको दराजभित्र रबरले बाँधेको र नबाँधेको अवस्थामा ती नोट बरामद भएको हो । त्यसपछि खुर्सैद आलमलाई खोजतलास गर्ने क्रममा आलम र एराजुल हकलाई सुरुङ्गा बजारमा फेला पारिएको थियो । उनीहरूको साथबाट नेपाली नोट एक हजारका ४ र पाँच सयका ३३ थान गरी २० हजार ५ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका तीनै जनालाई खोटा चलनसम्बन्धी कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको छ । उनले भने, ‘म्याद थप गर्न लगेका छौं, त्यसपछि विस्तृतमा अनुसन्धान सुरु हुन्छ ।’ बरामद नोटमध्ये तीनवटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ । पक्राउ परेका व्यक्तिले बयानमा डेढ लाख नक्कली नोट रहेको खुलाएका छन् । बरामद भए बाहेकको रकम खर्च भइसकेको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताए । उनीहरूले ल्याएको नोट कहाँबाट आएको भन्ने खुलिसकेको छैन ।