कारोबार संवाददाता
सोमवार, असार २९, २०७७
486

नक्कली नाता कायम गरी मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा नक्कली नाता कायम गर्ने जनप्रतिनिधिदेखि उक्त कार्यमा सघाउने तथा प्रत्यारोपणमा संलग्न चिकित्सक पनि छन् ।
चितवनको कलेज अफ मेडिकल साइन्सेसले २०७६ जेठ २७ गते प्रत्यारोपण गरेको मिर्गौला १३ लाखमा खरिद बिक्रि भएको खुलेको हो । ब्युरोको टोलीले शनिबार चितवनबाट तीनजना डाक्टरलाई पक्राउ गरेकोमा आइतबार ललितपुरबाट थप ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने चिकित्सकहरूमा राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी छन् । श्रेष्ठ मेडिकल कलेजको प्रमुख सञ्चालक हुन् । उनी मेडिकल काउन्सिलका सदस्यसमेत हुन् ।
पक्राउ पर्ने अन्यमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, उक्त मेडिकल कलेजका कानूनी सल्लाहकार रमेश काफ्ले, ललितपुर महानगरपालिका–३ का वडा अध्यक्ष गोपाल महर्जन छन् । यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरका तात्कालीन खरिदार (हाल अवकाश प्राप्त) नवराज केसी, जिल्ला प्रशासन कार्यालयका सहयोगी सरोजकुमार के.सी पनि पक्राउ परेका छन् ।
यस्तै प्रहरी सहायक निरीक्षक भिमप्रसाद खनाल, निलम्बित प्रहरी नायव निरीक्षक योगेन्द्रराज थपलिया, भक्तपुर जगाती बस्ने रेश्मा राई र जमुना राजभण्डारी पक्राउ परेका छन् ।
व्यूरोका अनुसार मिलेमतोमा विदेशमा रहेका व्यक्तिको विवरण प्रयोग गरी नक्कली कागजात खडा गरी गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण गरिएको खुलेको छ । मिर्गौला दिने व्यक्ति खोटाङका हुन् भने लिने व्यक्ति ललितपुरका हुन् । वडा अध्यक्ष महर्जनले नाता नै नभएको व्यक्तिलाई भाञ्जा भनी प्रमाणित गरेको व्यूराले जनाएको छ ।