कारोबार संवाददाता
बुधवार, असार २४, २०७७
583

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने पोखरा महानगरपालिकाका तीन कर्मचारीसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ । पोखरा महानगरका तीन कर्मचारी तथा नर्स र शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन नगर प्रहरी सहायक निरीक्षक लो बहादुर कामीले श्री ५ इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय, कास्कीबाट कक्षा १० टेष्ट परीक्षा उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको खुलेको अख्तियारले जनाएको छ । यस्तै पोखरा महानगरपालिकामा सहायकस्तर चौथो पदमा कार्यरत यमुना श्रेष्ठले भद्रकाली माध्यमिक विद्यालय कुँडहर पोखराबाट कक्षा १० उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको खुलेको छ ।

महानगरकै सहायकस्तर चौथो पदमा कार्यरत राम प्रसाद भट्टराईले पनि भानुभक्त आचार्य माध्यमिक विद्यालय गल्याङ स्याङजाबाट कक्षा १० टेष्ट उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरेको खुलेको छ ।
यस्तै कान्ति बाल अस्पतालका नर्स एड पवित्रा अधिकारीले पनि पशुपति चावहिलबाट एस.एल.सी. पास गरेको नक्कली प्रमाण पत्र पेश गरी २०६४ असोज १ गते देखि हालसम्म जागिर खाएको खुलेको छ ।
अख्तियारका अनुसार राष्ट्रिय प्राथमिक विद्यालय, धमौरा, महोत्तरीका तत्कालीन प्रा.वि. शिक्षक महन्जी साहले नक्कली अध्यापन अनुमति पत्र पेश गरेर जागिर खाएको खुलेको छ ।
जिल्ला शिक्षा कार्यालय, धनुषाबाट स्थायी अध्यापन अनुमति पत्र लिएको भनी तथा नक्कली स्थायी अध्यापन अनुमति पत्र पेश २०६६ असोज १५ गते देखि जागिर खाइरहेको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ ।