कारोबार संवाददाता
आइतवार, कार्तिक २६, २०७४
878

विश्वबाट सन् २०३० सम्म भोकमरी अन्त्य गर्न लिइएको दिगो विकास लक्ष्य–२ पूरा गर्न सबैभन्दा बढी चुनौति एसियाली मुलुकलाई रहेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) को पछिल्लो प्रतिवेदनले शून्य भोकमरीको लक्ष्य पूरा गर्न सबैभन्दा धेरै चुनौति एसियामा रहेको देखाएको हो ।
एसिया तथा प्रशान्त क्षेत्रमा खाद्य तथा पोषण सुरक्षा अवस्थासम्बन्धी हालै प्रकाशित प्रतिवेदनअनुसार यस क्षेत्रका धेरै मुलुकमा पाँच वर्षमुनिका बालाबालिकामा कुपोषणको समस्या उच्च देखिन्छ भने उत्पादन वृद्धिदर पनि सन्तोषजनक छैन । “हामी प्रगतिका लागि अगाडि बढ्दै छौं तर भोकमरीसँगका विरुद्धको अभियान सुस्त छ भने एसिया प्रशान्त क्षेत्रमा भोकमरीको संख्या पनि बढ्दो क्रममै छ,” प्रतिवेदनको मुख्य सन्देशमा भनिएको छ, “यसको अर्थ यस क्षेत्रका  धेरै मुलुकले सन् २०३० सम्म खाद्य असुरक्षाको अन्त्य गर्ने लक्ष्यलाई  पूरा गर्न सकिरहेका छैनन् ।” एसिया प्रशान्त क्षेत्रका अधिकांश मानिस स्वस्थकर खाना उपभोग गर्नेतर्फ अग्रसर देखिन्छन् तर पोषिलो खानेकुराको अपर्याप्तता भने यी मुलुकमा अझै देखिन्छ ।

नेपाल मात्र नभई एसियाली मुलुकमा नै मुख्य खाद्यान्नका रूपमा चामलको उपभोग उच्च छ । तर, एफएओको यसै अक्टोबरमा प्रकाशित यसै विषयसँग सम्बन्धित मूल प्रतिवेदन ‘फुड आउटलुक २०१७’ मा यो वर्ष एसियाको मुख्य खाद्यान्न चामल उत्पादनमा समेत कमी आउने प्रक्षेपण गरिएको छ । प्रतिवेदनअनुसार सन् २०१६ को तुलनामा एसियामा यो वर्ष खाद्य उत्पादनसमेत ५ लाख ५० हजार टन कम हुनेछ ।  मौसमको प्रतिकूलताका कारण यो वर्ष मुख्य गरी कोरिया, जापान, नेपाल, भियतनाममा धान उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । इन्डानेसिया, थाइल्यान्ड, फिलिपिनस, कम्बोडिया, पाकिस्तानलगायतका  केही मुलुकमा भने उत्पादन बढ्ने अनुमान छ ।
गरिवी र खाद्य असुरक्षाबाट मुक्ति पाउने हो भने बढी मुनाफा दिलाउने बजारसम्म साना किसानहरूको पहुँच बढाउनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ । यसका लागि स्थानीय  स्तरका कृषक समूहहरूलाई देखिएका समस्या समाधान गर्न लगानी, पूर्वाधार विकास, ग्रामीण वित्तीय बजार विस्तार र कृषि प्राविधि सेवालगायतका विषयमा सहयोग गर्नुपर्ने सुझाव दिइएको छ । “समग्रमा भन्नुपर्दा हालका वर्षमा खाद्यान्नको मूल्य घटिरहेको छ र अर्कोतर्फ खाद्य असुरक्षाका कारण मानिसहरू भोकभोकै बस्नु परिरहेको  अवस्थालाई सरकार, राज्य र अन्य साझेदार समूहहरूले गर्नुपर्ने कार्य पूरा गर्न सकिरहेका छ्रैनन्,” प्रतिवेदनमा उल्लेख छ ।
‘कोही पछि नपरुन्’ भन्ने मूल नारासहितको दिगो विकास लक्ष्य हासिल गर्न खाद्यान्नको उत्पादन र उपभोगको महत्व अति विपन्न वर्गहरूका लागि रहेकाले खाद्य अर्थतन्त्रमा लगानी बढाउनुपर्ने सुझाव प्रतिवेदनले दिएको छ । विश्वमा खाद्य असुरक्षा बढ्नुमा खाद्यान्न खेर फाल्ने बानीलाई पनि एफएओका पछिल्ला प्रतिवेदनले प्रमुख कारकका रूपमा  प्रस्तुत गर्दै आएका छन् । “खेर जाने खाद्यान्नलाई मात्र घटाउने हो भने पनि यसले खाद्य सुरक्षा, उच्च कृषि आम्दानी र वातावरणको क्षेत्रमा उपलब्धि हासिल गर्न सहयोगी हुनेछ,” प्रतिवदेनमा  भनिएको छ ।


सातामा धेरै पढिएको