कारोबार संवाददाता
सोमवार, असार ८, २०७७
1218

दोलखा- माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको टोली फर्किएको छ । आयोजना सुरक्षाका लागि १० वर्ष अघिदेखि लामाबगरमा खटिएको टोली एक हप्ता अघि आयोजनास्थलबाट फर्र्किएको हो ।
आयोजना सुरक्षाको जिम्मा नेपाली सेनाले नै लिएपछि सशस्त्र प्रहरीको टोली फर्किएको हो । आयोजनामा ८० जनाको टोली कार्यरत थियो । सुरुका ६ वर्षसम्म डिएसपीकै कमाण्डमा टोली लामाबगरमा रहे तापनि जिल्ला सदरमुकाम चरिकोटमा सशस्त्रको बेस क्याम्प राखेपछि सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा परिचालित थियो ।

लामाबगरबाट फर्किएको टोली चरिकोटमै रहेका छन् । मन्त्रीपरिषद्को निर्णय अनुसार नै गृह मन्त्रालयले तराईका सिमा सुरक्षाका लागि पठाउने आदेश आएकाले लामाबगरबाट फर्किएको सशस्त्र प्रहरी बल १८ नं. बलका प्रहरी निरीक्षक प्रकाश भुजेलले जानकारी दिए । कोभिड–१९ को महामारीपछि भएको लकडाउन कार्यान्वयनका लागि जिल्लाका विभिन्न ठाउँमा परिचालित भएका सबै टोलीलाई पनि सशस्त्रले चरिकोट केन्द्रित गरेको छ ।
भारतसँगको खुल्ला सिमानाका कारण लकडाउनमा समेत भारतबाट तराईका जिल्लामा ओहोरदोहोर रोक्न नसकेपछि सरकारले ठूला आयोजना, कारागार र प्रतिष्ठानहरुमा सुरक्षा जिम्मेवारी नेपाली सेनालाई दिएर सशस्त्र प्रहरी र जनपथ प्रहरी सिमा सुरक्षामा पठाउने निर्णय गरेको थियो ।
जिल्लाका सबै ठाउँबाट सदरमुकाम केन्द्रित गरेका टोली तयारी अवस्थामा रहेको र माथिको आदेश आउने वित्तिकै तराई जान सक्ने सशस्त्र प्रहरी निरीक्षक भुजेलले बताए ।
राष्ट्रिय गौरवको रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरक्षाका लागि २०६८ मंसिरदेखि सशस्त्रको टोली लामाबगर पुगेको थियो । अहिले आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको छ ।
आयोजनाका बाह्य काम करिब सकिएको छ । पुनः आयोजनाको सुरक्षामा फर्किने नफर्किने बारे माथिकै आदेशमा भरपर्ने प्रहरी निरीक्षक भुजेलले बताए ।