कारोबार संवाददाता
शुक्रवार, जेठ २३, २०७७
615

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको साती गाउँमा गत १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेकामाथी थप १० दिनको म्याद थप गरिएको छ ।
अनुसन्धानका लागि ११ दिनको म्याद थप माग गरिएकोमा जिल्ला अदालत रुकु्म पश्चिमबाट १० दिनको म्याद थप गरिएको श्रेस्तेदार कृतबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार अब म्याद थप हुनसक्ने संभावना कम रहेको छ ।

‘एकजना बालबालिका समेत रहेका कारण अब फेरी म्याद थप हुनसक्ने संभावना कम छ, सायद यो म्याद सकिनुभन्दा अघि नै सरकारी वकिल कार्यालयबाट अभियोग गर्दा हुन्छ,’ श्रेस्तेदार बोहराले भने, ‘अन्यलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था भएपनि बालबालिकाको हकमा २१ दिन मात्र पाईन्छ ।’
पहिलो पटकलाई १० दिन थुनामा राख्न आदेश भएको थियो र यो थप १० दिन संगै जम्मा २० दिन थुनामा राख्न आदेश हुन्छ । मृतक परिवारको तर्फबाट २० जनामाथी किटानी जाहेरी दर्ता पछि प्रहरीले १८ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

थप ७ जना पक्राउ
यसैबीच रुकुम पश्चिमको घटनाको अनुसन्धानका लागि थप ७ जना स्थानीय पक्राउ परेका छन् । घटनाको थप अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।
तर मृतकको परिवारबाट किटानी जाहेरी परेका २ जना भने अझै फरार रहेका छन् । मृतक परिवारले २० जनालाई किटानी जाहेरी गरेकोमा १८ जना पक्राउ परिसकेका छन् ।