लक्ष्मी सापकोटा
शुक्रवार, जेठ २३, २०७७
618

लकडाउनको ७३ औं दिनमा काठमाडौ उपत्यकाभित्रका सबै प्रकारका पसल खुलेका छन् । व्यवसायी आफैंले निर्णय गरेर बिहीबारदेखि बजार पसल खुला गरेका हुन् । लामो समयसम्म पसल बन्द हुँदा व्यवसाय नै डुप्ने अवस्थामा पुगेको भन्दै व्यवसायीले बजार खुला गरेका हुन् ।
काठमाडौंका मुख्य व्यापारिक केन्द्र न्युरोड, कोटेश्वर, बौद्ध, भोटेबहाल, असन, इन्द्रचोकलगायतका क्षेत्रका पसलहरू खुला भएका छन् । बाहिरी क्षेत्रमा रहेका पसलसमेत खुला भएका छन् । व्यवसायीले ग्राहकको तापक्रम नापेर र स्यानिटाइजर लगाउन दिएर मात्र पसलमा प्रवेश गराएका छन् ।

साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णय गरेको थियो । महासंघको निर्णयपछि सबैले पसलहरू खुला गरेका हुन् । महासंघका अध्यक्ष नरेश कटुवालले दैनिक बिहान ११ बजेसम्म सबै पसलहरू खुला हुने जानकारी दिए ७३ दिनसम्म पसल बन्द हुँदा व्यवसाय नै धरासय अवस्थामा पुगेपछि बाध्य भएर पसल खुला गरिएको उनले जानकारी दिए । सरकारले ७ असार सम्म कर तिर्न भनेको छ, उनले भने, “ व्यवसाय नै बन्द भएपछि कसरी कर तिर्ने जसको कारणले गर्दा पनि पसल खुला गरेका छौ ।” पसलहरू खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनु पर्ने सुरक्षा सतर्कता अपनाइएको उनले जानकारी दिए ।
राज्यलाई तिर्ने कर, घर भाडा, बैंकको ब्याज र कर्मचारीको तलब भत्तासमेत भुक्तानी गर्न समस्या भएका कारण पसल व्यवसायहरू खुला गर्नुपरेको उनको भनाइ छ । महासंघका महासचिव अञ्जन शाक्यले लकडाउन उल्लंघनको रुपमा नभई जीविकोपार्जनका लागि पसलहरू खोलिएको बताए । यसैबीच, काठमाडौंमा पसल खोल्न स्थानीय प्रशासनले अवरोध नगर्ने भएको छ ।
बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र व्यापारीबीचको छलफलमा पसल बन्द गर्न दबाब नदिने सहमति भएकोे महासंघका अध्यक्ष कटुवालले जानकारी दिए । यसअघि लकडाउनकै विषयलाई लिएर उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेको थियो । बैठकले लकडाउन उल्लंघनबारे कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिमा जानकारी गराउने निर्णय गरेको छ ।.काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले छलफलले व्यापारीहरूबाट प्राप्त सुझावका आधारमा व्यवसाय सञ्चालनका लागि विभिन्न मोडल तयार पार्दे सो मोडलमा व्यवसाय सञ्चालन गर्न लकडाउन खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको बताए ।
व्यवसाय सञ्चालनका लागि आवश्यक निर्देशिका तयार गरि लागू गर्न कोभिड(१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सिफारिसका रूपमा पठाईने उनले बताए । छलफलमा व्यवसायीहरूले बिहान ११ बजेदेखि साँझ साढे ५ बजेसम्म उद्योग तथा बजार पसल सञ्चालनको वातावरण मिलाउन सुझाव दिएका थिए ।
व्यवसायीेले दिन विराएर पालैपालो सबै किसिमको उद्योग व्यवसाय र पसल सञ्चालनको व्यवस्था मिलाउन सुझाव दिएका छन् । शिक्षण संस्थान, धार्मिक स्थल, सिनेमा हल, जिमखाना, खेलकुद लगायत क्षेत्रबाहेक अत्यावश्यक सामान, मल,कृषि, कुरियर, सरकारी कार्यालय, निजी संघसंस्था, उद्योग, निर्माण सम्बन्धी कामको साथै सामाजिक दुरी सहितको सिट व्यवस्थापन गरी जिल्ला भित्र आन्तरिक रूपमा सार्वजनिक यातायातको साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन व्यवसायीले जोड दिएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सरकारले ११ चैत देखि मुलुकभर लकडाउन गरेको थियो । लामो समयसम्म भएको लकडाउनका कारण बजार पसल बन्द हुँदा उद्योगी व्यवसायीसँगै आम उपभोक्ता प्रत्यक्ष मारमा परेका छन ।