कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७
559

ताप्लेजुङ- जिल्लास्थित डिभिजन वन कार्यालयका दुई जना सहायक वन अधिकृत मंगलबार राति पक्राउ परेका छन् । सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक–एक लाख रुपैयाँ घूससहित पक्राउ गरिएको हो । सुनसरीको इटहरीबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घूस रकमसहित पक्राउ गरेको आयोगले जनाएको छ ।
उनीहरूले सेतक चिनी छोडपुर्जीको विषयमा सेवाग्राहीस“ग घूस लिएकाले पक्राउ गरिएको आयोगका इटहरी प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए । टेलिफोन सम्पर्कमा प्रमुख बूढाले भने, “आवश्यक कागजातसहित विशेष अदालतमा मुद्दा दर्ता गर्छौं । बाँकी विवरण इटहरी ल्याएपछि थाहा हुन्छ ।” इटहरीवाट आएको अख्तियारको टोलीले मंगलबार बेलुका १० वजेसम्म आवश्यक प्रक्रिया पूरा गरेर राति साढे ११ बजेतिर इटहरि लगिएको जनाएको छ । सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमै रकम लेनदेन भएको दाबी गरिएको छ । अख्तियार टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर सुरक्षाकर्मीको सहयोग लिएको थियो ।
जडिबुटी र वन पैदावार संकलन तथा छुट पुर्जीका लागि वन कार्यालयमा घूस लेनदेन हुने गरेको आधारमा अख्तियारको टोली परिचालन भएको हो । स्रोतका अनुसार अख्तियारमा पटक–पटक सेवाग्राहीले सूचना उपलब्ध गराएकाले लकडाउनको बेलासमेत आयोगको टोली खटिएको हो ।