कारोबार संवाददाता
बिहिवार, जेठ ८, २०७७
431

विराटनगर-महँगो ब्राण्डको बोतलमा कम गुणस्तरको मदिरा राखेर बिक्री गर्ने गरेको फेला परेको छ । यसरी विभिन्न महँगो ब्राण्डका बोतलमा एकदमै कम गुणस्तरका मदिरा हालेर बिक्री गरेको अवस्थामा मोरङ प्रहरीले विराटनगरबाट ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले विराटनगर–११ स्थित बसपार्कबाट अवैध मदिरा बरामद गरेको हो ।
न्यू डिएन ट्रेडर्सका नामबाट सञ्चालित पसलबाट विभिन्न ब्राण्डका बोतलमा कम गुणस्तरको मदिरा लगाएर बिक्री गर्ने गरेको पाइएको छ । “महँगो ब्राण्डको बोतलमा रिप्याक गरी बिक्री गर्ने गरेको पाइएको छ,” मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले भने, “५० रुपैयाँको मदिरा १ हजार २ सयभन्दा बढीमा बिक्री गर्ने गरेको भेटेका छौं ।”

पसलमा नक्कली मदिराको कारोबार भइरहेको सूचना पाएपछि छापा मारेको प्रहरीले पसलभित्रबाट तयार नक्कली मदिराका बोतलहरूसहित मदिरा बनाउन प्रयोग गरिने राजस्वका स्टीकर, गम, टेप, कच्चा पदार्थलगायतका सामग्रीसमेत बरामद गरेको छ ।
पसल सञ्चालन गर्दै आएका विराटनगर–६ शान्ति चोकका श्रवण मुखियाले पसल भित्रै र शान्ति चोकमा रहेको आफ्नो घरमा समेत नक्कली मदिरा निर्माण गर्दै आएको प्रमाण फेला परेको छ । प्रहरीले उनको घरबाट ६ बोरा बढी सिलप्याक नक्कली मदिरा बरामद गरेको छ भने बसपार्क नजिकको पसलबाट कयौं कार्टुन मदिरा र कच्चापदार्थ बरामद भएको छ ।
पसल सञ्चालक मुखियाले प्लाष्टिकको बोतलमा बिक्री हुने पासपास ब्राण्डको एकदमै सस्तो मदिरालाई गोल्डेन ओकमा रिफिल गरेर बिक्री वितरण गर्दै आएका थिए । यसैगरी कमसल रक्सीलाई ओल्ड दरबार र मास्टर सेलेक्सनलगायतका महँगो मूल्यको बोतलमा रिफिल गरी बिक्री वितरण गर्दै आएका थिए । पसल सञ्चालक मुखियाले समेत आफूले सस्तो मूल्यको मदिरा महँगो मूल्यको बोतलमा रिफिल गरी बिक्री गरेको स्वीकार गरेका छन् । उनले आफू बीस लाख बढी बैंकको ऋणमा रहेकाले यस्तो कारोबार गर्न थालेको दाबी गरेका छन् ।
मुखियाले उत्पादन गरेका नक्कली मदिरा अधिकांश नजिकै रहेको बसपार्क र होटलहरूमा खपत हुँदै आएको स्थानीयले बताएका छन् । नक्कली मदिरा उत्पादन गरेर जनस्वास्थ्यमाथि खेलवाड गर्ने र आर्थिक ठगी गर्नेलाई कडा कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।
प्रहरीले मुखियाको घर र पसलबाट बरामद भएका नक्कली मदिरासहित मदिरा बनाउने सामग्रीसमेत नियन्त्रणमा लिएको छ । नक्कली मदिरा उत्पादन गर्नेलाई राजस्व अनुसन्धान विभागसँग समन्वय गरेर कारबाही चलाइने मोरङ प्रहरीले जनाएको छ ।