कारोबार संवाददाता
बिहिवार, फाल्गुन ८, २०७६
769

वीरगन्ज- स्वर्गीय विहारीलाल लाठ ‘कर्मवीर सम्मान’ बाट तीन जनालाई सम्मान गरिएको छ ।
रिलिफ सोसाइटी अफ कर्मशाका संस्थापक महासचिव एवं पूर्वअध्यक्ष स्व. विहारीलाल लाठको आठांै स्मृति दिवसको अवसर पारेर समाजमा विभिन्न क्षेत्रमा योगदान पु-याएका ब्यक्तित्वहरूलाई विहारीलाल लाठ कर्मवीर सम्मान प्रदान गरिएको हो । बाराको कलैयामा राम रहिमका नामले परिचित जंगबहादुर यादव र महम्मदसागिर र शिक्षा क्षेत्रमा योगदान पु-याउने पर्साको झौवागुठीको विद्यालयमा अध्यापनरत शिक्षक सुकदेव चौरसियालाई सम्मान प्रदान गरिएको छ ।

झौवागुठीको राराचौरसिया माविको कक्षा पाँचका कक्षा शिक्षक चौरसियाले कक्षालाई नमुना कक्षाको रूपमा विकास गरेका छन् । नमुना कक्षाका रूपमा नयाँ प्रयोग गरेका चौरसियाले विद्यार्थी कक्षामा अनुपस्थित हुँदा आफै अभिभावककोमा पुग्ने गरेका छन् । विद्यार्थीलाई शिक्षा र कक्षामा निरन्तर टिकाई राख्न उनले सिर्जनात्मक भूमिका निर्वाह गर्दै आएकाले सोसाइटीले उनलाई सम्मान गरेको हो ।
त्यस्तै बाराको कलैयामा सामाजिक सेवामा क्रियाशील ७६ वर्षीय रामरहिमलाई सेवानिवृत्त जीवनलाई दीन दुःखीको सेवामा लगाएको र समाजमा धर्मका नाममा हुने अशान्ति रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले स्व. विहारीलाल लाठ कर्मवीर सम्मानले सम्मान गरिएको रिलिफ सोसाइटीका अध्यक्ष अशोक लाठले बताए ।
वीरगन्ज उद्योग वािणज्य संघका पूर्वअध्यक्ष अशोक वैद्यले तीने जना कर्मवीरलाई सम्मान पत्र र दोसल्ला लगाएर सम्मान गरे । सम्मानपछि बोल्ने क्रममा स्वर्गी विहारीलाल लाठलाई स्मरण गर्दै उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वैदले समाजका हरेक समुदाय र क्षेत्रका व्यक्तिलाई जोड्न खोज्ने समाजप्रति अत्यन्त चिन्तन राख्ने खालको व्यक्ति भएको चर्चा गरे ।

१५ जनालाई सिलाइ मेसिन वितरण
रिलिफ सोसाइटी अफ कमर्सले आयोजना गरेको सम्मान कार्यक्रममा १५ जना महिलालाई सिलाइ कटाइ मेसिन वितरण गरिएको छ । राधादेवी वृजलाल लाठ ट्रस्टको सौजन्यमा बारा पर्साका १५ जना उद्यमी महिलालाई सिलाइ–कटाइ मेसिन वितरण गरिएको हो । उद्यमशिलताको विकासका लागि मेसिन वितरण गरेको सोसाइटीका सल्लहाकार गणेश लाठले बताए । स्वरोजगारका माध्यमले आर्थिक रूपमा महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुगोस् भन्ने ट्रष्टको आकांक्षा रहेको उनले बताए ।