कारोबार संवाददाता
बुधवार, पुष २, २०७६
902

नेपाल अहिले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ ‘भिजिट नेपाल–२०२०’ आयोजनाको अन्तिम तयारीमा जुटेको छ । नेपाल सरकारको यस महत्वाकांक्षी अभियानमा हातेमालो गर्दै यहाँको पर्यटकीय सेवा र उद्यमलाई प्रवद्र्धन र सशक्तीकरण गर्ने उद्देश्यका साथ एक्सेलट्रिप ग्लोबलले नेपालमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।
१५ लाख होटल र ४०० वायुसेवा कम्पनीका संजाल मार्फत एक्सेलट्रिप संसारकै तीव्र रफ्तारमा फैलँदो एक अनलाइन ट्राभल प्लाटफर्म हो । संसारभरका लाखौं यात्रारत वा यात्राकांक्षी मानिससम्म पहुँचको सामथ्र्य बनाएको एक्सेलट्रिपले १४ मुलुकहरूमा आफ्नो उपस्थिति जनाइसकेको छ । नेपालको पर्यटनको प्रवद्र्धन तथा ‘भिजिट नेपाल–२०२०’ मार्फत २० लाख पर्यटक भित्र्याउनका लागि एक्सेलट्रिपले नेपाल पर्यटन बोर्डसंग साझेदारीसमेत गरेको छ । त्यसैले एक्सेलट्रिप नेपालको एउटा मुख्य उद्देश्य संसारभरका लाखौं पर्यटकलाई नेपालप्रति आकर्षित गर्दै पर्यटन वर्ष मार्फत २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सार्थक बनाउने हो ।
एक्सेलट्रिप स्वदेशी एवं विदेशी व्यावसायिक इन्जिनियर कार्यरत नेपालमै विकसित अनलाइन होटल तथा एअरलाइन्स बुकिङ् इन्जिन हो, जसले उच्चतम प्रविधि तथा वजार कौसलद्वारा आफूलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रीसँग आबद्ध गर्छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उपभोक्ता एवं होटल सञ्चालकहरूलाई प्रत्यक्ष जोड्ने मात्रभन्दा पनि यस अन्तक्र्रियात्मक अनलाइन प्लाटफर्मले एकातिर यात्रीहरूलाई स्थानीय होटल खोज्न र रोज्नमा सहयोग पुर्याउदै अनलाइन बुकिङ प्रणालीको महत्वबारे जानकारी गराउँछ भने अर्कोतर होटलका निम्ति थप ग्राहक उपलब्ध गराउँछ । अर्को शब्दमा भन्नुपर्दा, एक्सेलट्रिपले हाम्रा स्थानीय उद्यमीलाई सातै प्रदेशभित्र चुस्त र छरितो कारोबार निम्ति सिधै अन्तर्राष्ट्रिय बजारसँग एकीकृत गर्छ । यसबाट एकै ठाउँ (जस्तै, काठमाडौं, पोखरा र चितवनको गोल्डेन ट्र्याङ्गल) मा मात्र पर्यटक ओइरिने नभई सन्तुलित एवं सबल पर्यटकीय वृद्धिमा सघाउ पुग्नेछ । यसरी समयक्रममा नेपालका कुना र काप्चामा रहेका साना होटल पर्यटकीय आगमनवाट लाभ लिन पुग्नेछन्, जसबाट निःसन्देह गरिबी निवारणमा सघाउ पुग्नेछ ।
“एक्सेलट्रिप नेपाल स्थानीय समुदायका निम्ति रोजगारीका अवसर सिर्जना गर्दै दक्ष जनशक्ति मुलुकभित्र व्यस्त राख्न प्रतिबद्ध छ,” विज्ञप्तिमा भनिएको छ, “सरकारका सबै सम्बद्ध निकायमा दर्ता यस कम्पनी सरकारका लागि राजस्व सिर्जना सँगसँगै परिश्रमका साथ कमाइएको पैसा स्वदेशमै संचिति गर्न समेत प्रतिबद्ध छ ।”
एक्सेलट्रिपले शून्य प्रतिशत कमिसन लिने हुँदा केही अन्तराष्ट्रिय एजेन्ट (जस्तै बुकिङ् डट कम, अगोडा, एक्सपेडिया आदि) को उच्च मुनाफाको अधिपत्य तोड्दै होटललाई नै अधिकतम प्रतिफल प्रदान गर्नेछ । एक्सेलट्रिप नेपालको अर्को उल्लेखनीय पक्ष के हो भने, कुनै पनि नेपालीले स्थानीय बैंकद्वारा जारी भीसा र मास्टरकार्ड तथा ई–सेवामार्फत अन्तर्राष्ट्रिय होटल तथा उडान बुक गर्दै झन्झटरहित वैदेशिक यात्रा गर्न सक्ने छन् । एक्सेलट्रिपले नेपाली र अन्तर्राष्ट्रिय यात्री दुवैलाई नेपालस्थित कार्यालयबाट हरसंभव ग्राहक सेवा प्रदान गर्दै प्रतिस्पर्धी दर पनि उपलब्ध गराउने जनाएको छ ।
मुलुकभर आन्तरिक पर्यटन प्रवद्र्धन तथा दिगो पर्यटकीय वातावरण निर्माण निम्ति एक्सेलट्रिपले नेपाली यात्रीहरूलाई नेपालभित्रै यात्रा निम्ति उत्साहित र अभिप्रेरित गर्नेछ । त्यसैगरी होटल तथा होमस्टे व्यवस्थापनका लागि स्थानीय समुदायलाई अभिप्रेरित गर्दै स्थानीय अर्थतन्त्र मजबुत गर्नमा सघाउनेछ । यसका लागि, एक्सेलट्रिपले अनलाइन बुकिङ निम्ति सबै होटल र होमस्टेलाई डिजिटल रूपमा सबल बनाउने उल्लेख छ ।

एक्सेलट्रिपले नेपालका होटलहरूलाई आफ्नो संजालमा ल्याउने कार्य सुरु गरिसकेको छ । नेपालमै सञ्चालन भएका कारण पनि यसले आफ्नो स्तरीय ग्राहक तथा विक्रेता सेवा मार्फत ग्राहक तथा होटललाई झन्झटमुक्त पार्नेछ । त्यसैगरी यसले होटलहरूसँगको भुक्तानी यथाशीघ्र सम्पन्न गन विज्ञप्तिमा जनाएको छ ।
नेपाल राष्ट्र बैंकले मुलुकका बैंकहरूमार्फत विदेशी मुद्रा कारोवारको अनुमति प्रदान गरिसकेकाले सबै भुक्तानी नेपालभित्रै संभव भएका कारण स्वदेशमै विदेशी मुद्राको संचितिसमेत बढ्ने उल्लेख छ । सरल र सहज भुक्तानीका लागि एक्सेलट्रिपले ई–सेवासँग साझेदारी गरेको छ भने होटलहरूसँगको भुक्तानी निम्ति हिमालयन र कुमारी बैंकलाई आफ्नो साझेदार बनाएको छ। त्यसैगरी ज्ञानको दायरा विस्तार निम्ति सफ्टवारिका कलेज अफ आइटी र ई–कमर्ससँग रणनीतिक साझेदारी गरेको जनाइएको छ ।
एक्सेलट्रिपको भुक्तानीका माध्यम विदेशी र नेपालका बैंकहरूबाट जारी भिसा, मास्टरकार्ड, युनियन पे सँगसँगै ई–सेवाको डिजिटल वालेट हुनेछन् । एक्सेलट्रिप कर्पोरेट समाजिक उतरदायित्वप्रति समेत प्रतिबद्ध रहेकोले आफ्नो मुनाफाको केही अंश परोपकारी काममा खर्च गर्नेछ ।